गृहमन्त्रीज्यू हाम्रो सरुवा किन हुँदैन?



 

नेपाल समाचारपत्र
काठमाडौं
महानगरीय प्रहरी पहरा गण सामाखुसीमा कार्यरत दुई सय जना प्रहरीको वर्षौंसम्म पनि सरुवा नभएपछि गृहमन्त्रीसँग गुहार मागेका छन्। यसअघि ऊर्जा मन्त्रालयको नेतृत्व सम्हाल्दा वाहावाही पाउनुभएका गृहमन्त्री जनार्दन शर्माले प्रहरी प्रशासनभित्रको अनियमितता हटाउन पहल गर्ने भन्दै आफूहरूले गृहमन्त्रीसमक्ष नै गुनासो पोख्न चाहेको उनीहरूले बताएका छन्।

पहरागणमा पुनर्नियुक्ति भएदेखि हालसम्म पनि बाहिर सरुवा नभएपछि उनीहरूले असन्तुष्टि जनाएका हुन्। यो गणमा पुनर्नियुक्ति हुने प्रहरी जवानदेखि जुनियर अफिसरसम्मका छन्। दोस्रो चरणको मतदानका दिन बुधबार तुल्सीपुरमा बम फ्यालेर चर्चा कमाइरहेका प्रहरी हवल्दार दुर्गाबहादुर राना पनि त्यही पहरा गणमा पुनर्नियुक्ति पाएका प्रहरी हुन्।

शुरुमा यो गणमा विभिन्न कारणले जागिर छोडेका प्रहरीहरूको पुनर्नियुक्ति गरिने गरेको थियो। अहिले पुनर्नियुक्ति हटाई २०७१ को प्रहरीको नियमावलीअनुसार एकरुपताका साथ सरुवा हुने गरेको थियो। हाल यो गणमा प्रहरी उपरीक्षक (एसपी) को कमाण्डमा पुनर्नियुक्त हुने २ सय प्रहरीसहित ८ सयभन्दा बढी छन्।
पुनर्नियुक्ति पाउने प्रहरीहरूलाई अन्य सबै नियम लागू हुने भए पनि प्रहरी नियमावली २०७१ अनुसार सरुवा भने हालसम्म गरिएको छैन। लामो समयसम्म सरुवा नभएपछि असन्तुष्ट रहेका प्रहरीले संगठनको मानव स्रोत विभागले सरुवाका लागि पटकपटक फाइल मगाए पनि विभागका उच्च अधिकारीको मनोमानीले विभिन्न बहाना बनाई हालसम्म सरुवा रोकेको गुनासो पीडित प्रहरीहरूले गरेका छन्।

सरुवा गर्ने सवालमा पुनर्नियुक्त पाएकाहरूलाई तालिम गराउनुपर्ने भनिए पनि विदेश मिशन, निर्वाचन, दंगा नियन्त्रणलगायत अन्य ड्युटी भने खटाइने गरेको छ। प्रहरी हाकिमहरूले तालिमलाई वहाना बनाएर सरुवा नगरेको उनीहरूको गुनासो छ।
गणमा कार्यरत पुनर्नियुक्त भएका प्रहरीहरू जुनियर अफिसरसम्म मात्र प्रहरी भएकाले महँगीका कारण राजधानीबाहेक अन्य जिल्लामा जाने आकांक्षा राखे पनि उनीहरूको मागलाई बेवास्ता गरिएको छ। पटकपटक सञ्चारकर्मीहरूलाई आफ्नो माग सुनवाइ नभएको भन्दै उनीहरूले आफ्नो कुरा गृहमन्त्रीसमक्ष पुर्याइदिन आग्रह पनि गरेका छन्।

पुनर्नियुक्त पाएका प्रहरीहरूमध्ये धेरैको आठ⁄दश वर्ष अझै नोकरी समय बाँकी छ। केही प्रहरी कर्मचारी १५ वर्षदेखि त्यही गणमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्