समलिंगी कार्यक्रम प्रतिबन्धित

0
Shares

 

इस्तानबुल, (एजेन्सी)
टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको वार्षिक गे प्राइड मार्चका आयोजकहरूले सरकारी प्रतिबन्धको बेवास्ता गर्दै कार्यक्रमलाई अघि बढाइने जानकारी आइतबार दिएका छन्। सो कार्यक्रम हिजो साँझ शहरको ताक्सिम चोकमा आयोजना गर्ने निर्णय गरिएको थियो।

स्थानीय प्रशासनले अतिवादी दक्षिणपन्थीहरूको चेतावनीका कारण सुरक्षाको कारण जनाउँदै लगातार तीन वर्षदेखि यस कार्यक्रममाथि प्रतिबन्ध लगाउँदै आएको छ। अन्य मुस्लिम मुलुकहरूमा जस्तै टर्कीमा समलिंगी यौन सम्पर्क प्रतिबन्धित छैन। तर यसलाई घृणा गर्ने ठूलै जनसमूह रहेको छ।

रूढीवादी इस्लामसँग जरा गाडेको राष्ट्रपति रिसेप तायिप एर्दोगानको एके पार्टीले परम्परागत धार्मिक संस्कार लागू गर्न नचाहेको जनाएको छ। एर्दोगानले धार्मिक निरपेक्षतालाई बढावा दिने बताउँदै तुर्केली जनतालाई आफ्नो धर्मलाई स्वतन्त्रत रूपमा अभिव्यक्त गर्न दिन आफू प्रतिबद्ध रहेको जनाएका छन्।

तर कतिपय राजनीतिक विश्लेषकहरूले उनी केही वर्षयता तानाशाह बन्दै गइरहेको आरोप लगाउने गरेका छन्। गे प्राइड आयोजक समितिका लारा ओज्लेनले बताएकी छिन्– ‘शान्तिपूर्ण र्याली आयोजना गर्न पाउने संवैधानिक अधिकार हो। हाम्रो मार्चमा कसैले हस्तक्षेप गर्ने चेतावनी दिएकै भरमा त्यसलाई रोक्न खोज्नु अप्रजातान्त्रिक कदम हो।’

तर नगर अधिकारीहरूले भने यस मार्चका लागि आफूहरूसँग औपचारिक अनुरोध नगरिएको बताएका छन्। गत वर्ष प्रतिबन्धको बाबजुद पनि यो कार्यक्रम गरिँदा प्रहरीले समलिंगी समूहमाथि अश्रु ग्यास र प्लास्टिक गोली प्रहार गरेको थियो।