जोखिमकै बीच ठडिँदै बारपाक

0
Shares

 

सन्तोष अधिकारी
बारपाक, गोरखा
गोरखा भूकम्पको केन्द्र विन्दु बारपाक एकीकृत बस्ती बसाउनका लागि कार्यविधि नै बाधक बनेको छ। जिल्लास्थित शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले भने बारपाक एकीकृत बस्ती विकास गर्नका लागि अहिले नै नसक्ने अवस्थामा पुगेको भनेर भन्न नमिल्ने बताए। ‘एकीकृत बस्ती विकास गर्न नसक्ने अवस्थामा पुगिसकेको छैन’, श्रेष्ठले भने– ‘कार्यविधि नबनेर रोकिएको हो।

कार्यविधि बन्न किन ढिलो भयो हामीले पनि पत्तो पाएका छैनौँ। हामीले निरिन्तर फलो गरिरहेका छौँ।’ बारपाकमा भूकम्पपीडितहरू अहिले घर बनाउने चटारोमा छन्। कहिले एकीकृत बस्तीको भाषण त कहिले सरकारी अनुदानको अपूरो भाषण सुनेर वाक्क भएका बारपाकीहरू घर बनाउन व्यस्त भएका हुन्। भूकम्पलगत्तै गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रतिरोधी घर बनाउन विभिन्न नापनक्सा सार्वजनिक गर्नुअघि नै बारपाकीहरूले घर बनाउन थालेका थिए। पुनर्निर्माण नीति अघि करिब ३ सय घर बारपाकमा ठडिइसकेको थियो। सरकारको आशामा बसेका बारपाकीहरू आगामी बर्खा काट्न समस्या हुने भन्दै धमाधम घर बनाउन शुरू गरेको बताउँछन्।

‘गाउँमा अहिले पाँच सयभन्दा धेरै पक्की घर बनिसके’, बारपाक–४ का खेमराज घले भन्छन्– ‘गाउँमा अब यसै घरमा बस्ने भनेर भूकम्पको कार्य विधि आउनुभन्दाअघि नै तीन सयभन्दा धेरै घरहरू बनिसकेका थिए। त्यसपछि अहिले पक्की घरहरू पनि दुई सयको हाराहारीमा थपिसक्या छन्।’ एकै ठाउँमा करिब १ हजार ३ सय घरधुरी रहेको एकीकृत बस्ती विकास गर्न पर्याप्त भूगोलसमेत भएको बारपाकलाई सरकारले ठोस निर्णय लिएर काम अघि बढाउन नसक्दा जोखिमकै बीच बारपाक पुनर्निर्माण भइरहेको छ। अहिले बारपाकमा आर्थिक हिसाबले केही कमजोर भएकाहरूले जस्तापाताले छाएको आवश्यकताअनुसारको तीन या चारकोठे एकतले घर र अलि हुनेखानेहरूले ढलान गरेरै दुई या तीनतले घर बनाउने लहड चलेको छ।

‘सरकारले यसो उसो गर्छु भन्छ केही गर्दैन’, बारपाकै धर्तीराम घले भन्छन्– ‘त्रिपालमुनि काँप्दै कति बस्ने, पानीमा कति रुझ्ने। अर्काको जग्गामा टहरो बनाएर सधैं बस्न दिँदैन। उसको पनि खेतीपाती लगाउने बेला भएर कराउन थाल्यो। केहीले आफूसँगै भएको रकम खर्च गरेका छन् भने केहीले ऋण खोजेरै भए पनि घर बनाएका छन्। भूकम्प आउनेबित्तिकैको बर्खा पनि काटियो, हिउँद पनि रातभरि शीतले भिजेर काँप्दै काटियो अब आउने बर्खा पनि त्यै हालत हुने होला भनेर हामीले घर बनाएका हौँ। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू आउँछन्। हामी पीडितलाई गफले सबै कुरा बारपाकमै ल्याइदिए जस्तो गर्छन्। हाम्रो समस्या जहाँको त्यहीं।’

बारपाकीले नयाँ बनाएको घरमा ढुंगा, सिमेन्ट, रड, केहीले ढुंगा र माटोको प्रयोग गरेर घर बनाएका छन्। बारपाकीको घर बनाउन आवश्यक ढुंगा, गिटी, बालुवा, सिमेन्ट, रडलगायतका सामग्रीहरू घरघरै पुगेको छ। दरौँदी नदीको किनारमा रहेको बालुवा उनीहरूले ट्रइक्टरमा हालेर बारपाक पुर्याएका हुन्।

डब्ल्यूएफपीको सहयोगमा सप्रोस नेपालको संयोजकत्वमा कामका लागि खाद्यान्न भन्ने कार्यक्रमबाट बारपाकीको घरघरै सडक पुगेको छ। ‘सप्रोसको कार्यक्रम पछि हाम्रो घरघरै जिप, ट्रइक्टरबाट घरघरैमा सामान पुर्याउन सजिलो भएको छ’, बारपाककै प्रकाश घले भन्छन्– ‘आन्तरिक ग्रामीण रिङरोड निर्माण कार्यक्रमबाट सडक बनाइएको हो।’

अधिकांश बारपाकीले घर बनाइरहेका छन्। तीमध्ये करिब ३० घर दलित परिवार अहिले पनि आफ्नो जग्गामा बस्न नमिलेर कोही भाडामा कोही सरकारी जग्गामा टहरो हालेर बसेका छन्। बारपाकमा अहिले भूकम्प स्मृति पार्क बनाउने कामसमेत शुरू भइसकेको छ। बारपाकमा अहिले पुनर्निर्माण भएका अधिकांश घरहरू भूकम्प प्रतिरोधीसमेत छैनन्। तर यस्तो घर बनाउन पनि बारपाकीले पाँच लाखभन्दा धेरै रकम खर्चिसकेका छन्। त्यसैले यिनीहरूले अब यो घर भत्काएर एकीकृत बस्ती बनाउन अर्काे घर बनाउने सम्भावना नरहेको अर्का बारपाकी धनीराम घले बताउँछन्।