विमानस्थलमा आकस्मिक उद्दारको अभ्यास

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रियमा विमानस्थलमा फुल स्केल इमर्जेन्सी एक्सरसाइज सम्पन्न गरेको छ। प्राधिकरणले शुक्रबार फुल स्केल इमर्जेन्सी एक्सरसाइजअन्तर्गत विमानस्थलमा आकस्मिक उद्दारको अभ्यास गरेको हो।

प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को नियम अनुसार यस्तो अभ्यास गर्नुपर्ने प्रावधान बमोजिम यो अभ्यास गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।‘भोलिका दिनमा विमानस्थलमा ठूलो जहाज दुर्घटना भए कसरी उद्दार गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कसरी उद्दार गर्छ भन्ने सन्देश दिन र हामी आफंै पनि यस्तो खालको उद्दार गर्न कतिको सक्षम छौं भनेर पनि यो अभ्यास गर्नु फलदायी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवानन्द उपाध्यायले बताउनुभयो।

उहाँले भन्नुभयो–‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को नियम अनुसार प्रत्येक दुई वर्षमा यस्तो अभ्यास गर्नुपर्ने भएकाले हामीले यो अभ्यास गरिएको हो।’ अभ्यासका क्रममा ए ३३० आकारको जहाजको डमी बनाएर आगो लगाई दमकल तथा रेस्क्यु टिमबाट उक्त जहाजमा लागेको आगो नियन्त्रण गर्ने अभ्यास गरिएको थियो।

अभ्यासका क्रममा एउटा ए ३३० सिरिजको ठूलो नमुना जहाजलाई श्यामपुरबाट (काल्पनिक विमानस्थल) आएको विमान काठमाडौं विमानस्थल आईपुग्दा दुवै इन्जिन खराब भएको विमानस्थल टावरलाई जनकारी गराउँदै १ सय ६८ यात्रु बोकेर अवतरण गर्छ। जहाजमा १२ जना चालक दलको सदस्यसहित कुल १ सय ८० यात्रु हुन्छन्। जसका लागि विमानस्थलले अपनाउनु पर्ने सबै सावधानी अपनाउँदै अग्नी नियन्त्रक, सुरक्षाकर्मी, मेडिकल टिम, एम्बुलेन्स, उद्दार गर्न तयार रहेका हुन्छन्।

जसमा ४५ यात्रुको मृत्यु भएको, २७ गम्भीर घाइते रहेका यात्रुलाई उपचारका लागि एउटा हेलिकप्टर र एम्बुलेन्समार्फत् अस्पताल पुर्याउँछन्। घाइतेलाई हेलिकप्टरले धापासीस्थित ग्रान्डी अस्पताल पुर्याएको थियो । ४० जनालाई भने घटना भएको नजिकै राखी विभिन्न अस्पतालाट आएका मेडिकल विशेषज्ञसहितको टिमले उपचार गरेको थियो।

फुल स्केल इमर्जेन्सी एक्सरसाइजका लागि साढे ४ बजेदेखि ५ बजेसम्म आकस्मिक बाहेक अन्य आन्तरिक एवम् बाह्य सेवाका विमान अवतरण र उडानको काम बन्द गरिएको थियो। ‘हामीले सबै पक्षको कामको समेत मूल्याङकन गछौं, कहाँ कसको के कमजोरी छ, सुधारेर अगाडि बढ्छौं, प्रमुख उपाध्यायले बताउनुभयो।