भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण आजदेखि



काठमाडौ (नेस) ।
यातायात व्यवस्था विभागले भूकम्पपीडितलाई दिने तयारी गरेको ट्याक्सी नम्बरको आजदेखि गोलाप्रथा गरेको छ ।

विभागले आवेदकमध्येबाट तीन दिनसम्म गोलाप्रथा गरी १५ सय ट्याक्सी नम्बरको छिनोफानो गर्दैछ।

बुधबार काभ्रे, नुवाकोट र रामेछापका लागि ४९१ ट्याक्सी नम्बरका लागि गोलाप्रथा हुँदैछ। विभागका अनुसार काभ्रेमा २०१, रामेछापमा १६५ र नुवाकोटमा १२५ भूकम्पपीडितले ट्याक्सी नम्बर पाउनेछन्।

यस्तै, बिहीबारदेखि दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका भूकम्पपीडितका लागि छुट्याइएका ५१३ ट्याक्सी नम्बरको गोलाप्रथा हुनेछ।

शुक्रबार काठमाडौँ, भक्तपुर, ललितपुर मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका गरी ८ जिल्लाका भूकम्पपीडिलाई छुट्याइएका नम्बरको गोलाप्रथा हुने बताइएको छ ।

विभागले गर्ने गोलाप्रथा ललितपुरस्थित च्यासल फुटबल मैदानमा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्