मानव अपहरण मुद्दाका चार आरोपित कारागार चलान



 

नेपाल समाचारपत्र
भद्रपुर
राजनीतिक दलका नेता र पत्रकारसमेतको मुख्य योजनामा झापामा भएको संगठित मानव अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ परेका ६ जनामध्ये जिल्ला अदालत झापाले जिल्ला प्रशासन कार्यालयका खरदारसहित चार जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अदालतको आदेशपछि उनीहरू चारै जना शुक्रबार साँझ कारागार चलान भएका छन् भने दुई जना धरौटीमा छुटेका छन्।

झापा शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर उनका नाममा दर्ता कायम रहेको बिर्तामोड बजार क्षेत्रभित्रको पाँच कट्ठा १६ धुर जग्गा हडपेको अभियोगमा पक्राउ परेका मेचीनगर–६ का अजय राई भनिने भूपू कान्छा, प्रशासनका खरिदार भद्रपुर–७ चन्द्रगढीका तेजेन्द्र न्यौपाने, नक्कली जग्गाधनीका रूपमा प्रस्तुत भएका मेचीनगर–४ का राजु कुँवर र भद्रपुर ७ का न्यौपाने स्टोरका सञ्चालक प्रेम न्यौपानेलाई झापा जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो।

शुक्रबार अबेर सकिएको थुनछेकको बहसमा झापा जिल्ला अदालतले उनीहरूसँग जनही १ करोड ५० लाख रुपियाँ धरौटी माग गरेको थियो। धरौटी रकम बुझाउन नसकेपछि उनीहरू कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेश थापा क्षत्रीले बताए। उनका अनुसार पक्राउ परेकामध्ये घटनाका आरोपित झापा भद्रपुरका मनी ट्रान्सफर व्यवसायी उत्तम कोइराला र मालपोत कार्यालयका कर्मचारी रुद्र सापकोटालाई धरौटीमा छोड्न आदेश दिएको बताए। कोइराला ३ लाख र कार्की १ लाख धरौटी बुझाएर रिहा भएको उनको भनाइ छ। घटनाका मुख्य योजनाकार पत्रकार पूजन घिमिरे, अर्का पत्रकार शम्भु दाहाल, माओवादी केन्द्रका नेता राजु आचार्य (अग्नि), सोही पार्टीका नेता तथा होटल व्यवसायी लक्ष्मण बस्नेत, मालपोत कार्यालयका अधिकृत रुद्र कार्की, सुब्बा टीकाराम लुइँटेल, लेखनदास मुक्ति निरौला, कर्मचारी शंकर कार्की, बिर्तामोडका ओम शिवाकोटी र अर्जुनधाराका मदन बुढाथोकी अझै फरार रहेकाले खोजी कार्य जारी रहेको उनले जानकारी दिएका छन्।

बिर्तामोड नगरपालिकामा रहेको झन्डै १५ करोड पर्ने जग्गा कीर्ते गरी हडप्न खोजेको उनीहरूमाथि आरोप लागेको छ। धरौटीमा रिहा भएकामध्ये सापकोटा नापी कार्यालय झापाका खरिदार पदमा कार्यरत थिए। गत १२ माघ गते आफूलाई अपहरण गरी बन्धक बनाएर हतियार तेस्र्याउँदै जग्गाको किनबेचसम्बन्धी कागजातमा जबर्जस्ती सहीछाप गराएको भन्दै झापा शनिश्चरेका विष्टले उनीहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। विष्टको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।

प्रतिक्रिया दिनुहोस्