बिन्दास देश, निराश मधेस

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
बाराको सिमरा जितपुर उपमहानगरपालिकाको सिमराका स्थानीय प्राध्यापक सञ्चबहादुर दोङ निकै निरास भएका छन्।

करिब २० वर्षपछि आफूले आफ्ना लागि योग्य आफ्ना जनप्रतिनिधिहरू छान्ने दिनको टुंगो अनिश्चित देखेपछि उनीमा चिन्ता पलाएको हो। असार १४ गते मतदान गर्ने दिन कुरेर बसेका तराई मधेसका नागरिकहरू सरकारको पछिल्लो निर्णयबाट हर्षित नभई निराश भएका छन्।

सरकारले असार १४ गतेको निर्वाचनलाई चौथोपटक सारेर असोज २ गते गर्ने निर्णयसँगै यस क्षेत्रका नागरिकहरूमा निराशा छाएको हो। सरकारले राष्ट्रिय जनता पार्टीका लागि लक्षित गरी असोज २ गतेका लागि निर्वाचनको तिथि तय गरेको भए पनि ऊसले अझै पनि चुनावमा भाग लिने कुरा नगरेका कारण असोज २ मा पनि निर्वाचन हुनेमा यहाँका नागरिकहरू आशावादी हुन नसकेका हुन्।

सञ्चबहादुरकै जस्तै पीडा बाराको कोल्भी नगरपालिकाका गजेन्द्र चौधरीको पनि छ। भोट हाल्ने व्यग्र प्रतीक्षामा रहेका चौधरीले मतदान गर्न नपाउँदा चित्त दुखाएका छन्। यी दुई जना प्रतिनिधि पात्र भएको वीरगन्जको ठाकुरराम क्याम्पसका प्राध्यापक डा. हरेराम ठाकुरले बताए। उनले निर्वाचन सार्ने निर्णय मधेसका नागरिकका लागि नै घाटा भएको र यसले भोटको दिन कुरेर बसेका नागरिक निराश भएको बताए। सरकारको यो पछिल्लो निर्णयले विशेष गरी पहाडी बाहुल्य भएका तराई मधेसका जिल्लाका नगरपालिकासहित गाउँपालिकाहरू नराम्रोसँग प्रभावित भएको छ।

 

उम्मेदवारसमेत तोकेर लगभग चुनावी मैदानमा उत्रिएका उम्मेदवारदेखि जनतासम्ममा नैराश्यता छाएको हो। बाराको सिमरा, निजगढ, कोल्भी, रौतहटको चन्द्रपुर, सर्लाहीको हरिऔन, महोत्तरीको बर्दीबासलगायतका २ नम्बर प्रदेशका मुख्य स्थानमा असार १४ गते मात्रै नभई वैशाख ३१ गते नै निर्वाचन गर्न सकिने अवस्था रहेको जिल्लास्थित निर्वाचन कार्यालयका कर्मचारीहरूले नै बताएका छन्।

 

यसैबीच शुक्रबारबाट वीरगन्जको जनजीवन सामान्य भएको छ। आन्दोलनकारीहरू सडकमा नदेखिएपछि स्वतस्फूर्त रूपमा पसल तथा यातयातहरू सञ्चालनमा आएका हुन्। बन्दको चौथो तथा अन्तिम दिन शुक्रबार बिहान पानी परेका कारण वीरगन्जका सडकमा आन्दोलनकारीहरू देखा परेका थिएनन्। तर पानी पर्न रोकिएपछि घण्टाघर, नगवा, मालपोत चोक, पावरहाउसलगायतका केही स्थानमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरूले केहीबेर टायर बालेर प्रदर्शन गरेका थिए।

 

राष्ट्रिय जनता पार्टीका नेता शिव पटेलले भने बन्द फिर्ता नभएको बताउँदै पानी परेकाले कार्यकर्ता सडकमा नदेखिनु स्वाभाविक भएको बताए। आन्दोलनकै क्रममा प्रदर्शनकारीले दिउँसो २ बजे वीरगन्जमा लाठी जुलुस प्रदर्शन भने गरेका थिए। राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको निर्वाचन तेस्रो चरणमा पनि गर्ने सरकारको निर्णयसमेत मान्य नहुने अडान राख्दै आन्दोलन फिर्ता नहुने पनि स्पष्ट पारेको छ।