ठेकेदार भागेपछि घर निर्माण अलपत्र

0
Shares

ज्ञानमणि नेपाल कालोटोपी,काभ्रे

विनासकारी भूकम्पले सबैभन्दा धेरै मानवीय क्षति बेहोरेको जिल्लाको मण्डनदेउपुर–१० मा भर्खरै मात्र पुनर्निर्माण शुरू भएपनि घर बनाउने ठेकेदार भागेपछि पीडितहरू झन् पीडामा परेका छन्।

गत वर्षको साउनदेखि यहाँका घरहरू बनाउने जिम्मा लिएका बारा जिल्ला घर बताउने ठेकेदार रामप्रित राम गत फागुनमा होली मनाउन भनेर घर गएका थिए। त्यस यता उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनले यस क्षेत्रका १३ वटा पक्की घर बनाउने ठेक्का लिएका थिए। जसमध्ये २ वटा मात्र सम्पन्न भएका छन्। बाँकी घर निर्माण कार्य अहिलेसम्म अलपत्र परेको स्थानीयबासीले गुनासो गरे।

‘विश्वासमा परेर कामको जिम्मा दियौं। अहिले धोका दिएर भाग्यो’, पीडित उमेश नेपाल भन्छन्– ‘सबै जसोसँग होली मनाउन भनेर पैसा मागेर लग्यो तर काम गर्न आएन।’ अब अरू कामदार खोजेर लगाउँदा खर्च झन्डै दोब्बर लाग्ने भएपछि यहाँका भूकम्पपीडितहरू निराश भएका छन्।

ठेकेदार भागेपछि उनीहरूकै समूहका केही कामदारहरूले काम त गरिरहेका छन् र तर उनीहरूले छुट्टै ज्याला मागेपछि समस्या परेको बताइएको छ। ठेकेदारले धोका दिएका कारण यहाँ एउटा घर बनाउन डेढदेखि २ लाखसम्म बढी लागत पर्ने पीडितहरूले गुनासो गरेका छन्।

 

‘उसले जिम्मा लिएका धेरैजसो घरहरूमा पहिलो तलाको गारो निर्माणसमेत सकिएको छ। ढलान, प्लास्टरलगायतका भित्री कामहरू बाँकी नै छ।

पैसा पनि काम गरेकोभन्दा धेरै लगिसक्यो। अब ठेकेदार आउँदैन रे। समस्या पार्ने भयो’, पीडितमध्येकै बद्रीप्रसाद नेपालले चिन्ता व्यक्त गरे– ‘राम्ररी काम गरेको भए अहिलेसम्म त्यो ठेकेदारले अरू १५ वटाजति घर बनाउने काम पाउँथ्यो। विश्वासमा परियो, अहिले समस्या परेको छ। ठेकेदार सम्पर्कमा आएन, खोज्न जाऊँ उसको घर पनि कहाँ हो थाहा छैन। समस्यामा परियो।’

 

स्थानीय स्तरमा दक्ष कामदार नभएकाले यसरी बाहिरबाट घर बनाउने मान्छे खोजेर ल्याउनुपरेका कारण धोका खाएको यहाँका स्थानीय बताउँछन्। हामीले त धोका पायौं, अरूले घर बनाउने जिम्मा दिँदा मान्छे चिनेर मात्र काममा लगाउन पीडितहरूले सुझाव दिएका छन्।

यस भेगमा अहिलेसम्म ९ सय ८४ जनाले पहिलो किस्ताको रकम लिएका छन्। जसमध्ये १ सय ५७ वटा घर निर्माण शुरू गरिएको र ४४ जनाले दोस्रो किस्ताको रकमसमेत पाएको यहाँको पुनर्निर्माणमा सहयोग गरिरहेको संस्था कारितास नेपालले जनाएको छ।