सरकारको निर्णयप्रति राजपाको विरोध

0
Shares

लक्ष्मीकुमार साह, महोत्तरी
सरकारले प्रदेश नं. २ को स्थानीय निकायको चुनाव सार्ने निर्णय र प्रदेश नं. १, ५ र ७ को चुनाव असार १४ गते नै हुने निर्णयको तराई मधेसका विभिन्न जिल्लालगायत महोत्तरीमा राष्ट्रिय जनता पार्टी नेपालले चर्को विरोध गरेको हो। संविधान संशोधन, स्थानीय तहको संख्या थप नगरी सरकारले गरेको यस निर्णयप्रति राजपाले आपत्ति जनाएको हो।

सरकारले मधेसको माग पूरा नै नगरी प्रदेश नं. २ को चुनाव असोज २ मा सारेको र प्रदेश नं. १, ५ र ७ को चुनाव असार १४ गते नै हुने भनेपछि एकपटक फेरि तराई मधेसका विभिन्न जिल्लालगायत महोत्तरीमा राजपा नेपालले सो निर्णयको विरोध गरेका छन्।

राजपाका नेता गजेन्द्र गुप्ताले मधेस र मधेसीको माग पूरा नभएसम्म राजपा चुनावमा नजाने बताउँदै सरकारले जबरजस्ती निर्वाचन गराए मुलुकमा नयाँ द्वन्द्व शुरू हुन सक्ने बताए। उनले मधेसलाई विभाजन गर्ने उद्देश्यले सरकारले निर्णय गरेको भन्दै चुनाव गराउन परे मधेसको सम्पूर्ण जिल्लामा एकैपटक गराउनुपर्ने बताए तर चुनाव गराउनुपूर्व मधेसको मागहरू पूरा हुनुपर्ने कुरामा जोड दिए।

जलेश्वर नगरपालिका र गौशाला नगरपालिकालगायत १२ गाउँपालिकाका मुख्य बजार र सडकमा राजपाका नेता तथा कार्यकर्ताहरूले शुक्रबार बिहानैदेखि ठाउँठाउँमा टायर बालेर सरकारको निर्णयविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्। बन्दको प्रभाव भने बर्दिवास नगरपालिकामा देखिएको छैन।

राजपाको बन्दले बजार, पसल, शैक्षिक संस्था, वित्तीय संस्थाहरूलगायत सरकारी निकायहरूमा पूर्ण रूपले प्रभाव परेको छ। आमहड्तालका कारण जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न सकेका छैनन्। सवारीसाधन नचलेपछि यात्रुलाई समस्या परेको छ। बन्दका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगे पनि कक्षा ११ को परीक्षार्थीलाई कुनै पनि किसिमको अवरोध गरिएको छैन।

राजपाले हडतालको आ≈वान गरेपछि जलेश्वरको सुरक्षा व्यवस्था कडा पारिएको छ। कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताए।