कतार जानेको संख्यामा घट्यो

0
Shares

रोविन पौडेल, काठमाडौं

साउदी अरेबिया, इजिप्ट, बहराइनलगायतका छिमेकी राष्ट्रले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेसँगै नेपालबाट कतार जानका लागि श्रम स्वीकृति लिनेको संख्या उल्लेखनीयरूपमा घटेको वैदेशिक रोजगार विभागले जनाएको छ।

उक्त घटनासँगै कतारमा रमजान पनि चलिरहेकाले संख्या घट्नुको मुख्य कारण यकिन गर्न नसकिएको वैदेशिक रोजगार विभागको भनाइ छ। यस अवधिमा कतार जानेको संख्या ठूलै संख्याले घटेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै अधिकारीले भन्नुभयो–‘पछिल्लो सात दिनको तथ्यांक हेर्दा स्वीकृति लिनेको संख्या क्रमशः घटेको देखिन्छ। कतारले यसखाले प्रतिबन्धले आफूलाई कुनै असर नपर्ने बताए पनि श्रम स्वीकृति लिनेको संख्या पहिलेको जति छैन।’

स्वीकृति लिएको संख्या बढ्ने अपेक्षा राखिएको भए पनि कतारका लागि श्रम स्वीकृति लिने त्यतिको संख्यामा रहेका छैनन्। अधिकारीका अनुसार संख्या घट्नुमा कारण कतारसँग छिमेकीले गरेको सम्बन्धविच्छेद अथवा त्यहाँ चलिरहेको रमजानमध्ये एक कारण हुन सक्छ।

अधिकारीले भन्नुुभयो–‘सम्बन्ध तोडिएको दिन ६ सय ७३ जनाले श्रम स्वीकृतिका लागि आवेदन दिएकोमा दोस्रो दिन जम्मा २ सय ६२ जनाले श्रम स्वीकृति लिए।’ घटनाको दोस्रो दिनै श्रम स्वीकृति लिनेको संख्या ठूलो मात्रामा घट्नुमा सम्बन्धविच्छेदकै सन्त्रास रहेको उहाँको बझाइ छ। विभागको अनुसार गत आवमा औसतमा दैनिक ५०० जनाले कतारका लागि श्रम स्वीकृति लिएका थिए। तर सम्बन्धविच्छेदको घटनापछि श्रम स्वीकृति लिनेको संख्या दैनिक औसत ४ सय २५ जनामा सीमित भएको विभागको तथ्यांक छ।

कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदपछि नेपालीहरु समस्यामा परेको कुनै पनि किसिमको खबर नआएकाले पनि कामदारहरु आश्वस्त भएको अधिकारीको दाबी छ। यसैबीचमा नेपालीमाझ कुनै समस्या परेको समाचार नआएको उहाँले बताउनुभयो।‘कतारमा अहिले नेपालीहरु कुनै पनि किसिमको संकटमा फसेका छैनन्।

त्यहाँबाट सकारात्मक नै खबर आएकाले पनि जानेहरुको संख्या अहिले देखिएको अनुपातमा घट्ने अनुमान छैन।’ अधिकारीको भनाइ छ।

 

यस अवधिमा यस कारणले समस्या परेको उजुरी त्यहाँ रहेका नेपाली निकायमा नआएको उल्लेख गर्दैे उहँँले भन्नुभयो–‘यस्तो अवस्थामा कोही उजुरी गर्न आए हाम्रा संयन्त्र तत्काल उद्दारका लागि सदैव तत्पर छन्। ’
वैदेशिक रोजगार विभागका अनुसार जेठ २१ देखि ३० गतेसम्म कूल ४ हजार ६ सय ९५ जना कामदारले कतार जान अन्तिम श्रम स्वीकति लिएका छन्।

 

विभागका अनुसार सम्बन्धविच्छेदको तेस्रो दिन कूल ७ सय २६ जनाले कतारका लागि श्रम स्वीकृति लिए पनि त्यसयता कम भएको हो। विभागका अनुसार जेठ २५ गते ४ सय ७४ जना, जेठ २६ गते ५ सय १३ जनाले कतारका लागि श्रम स्वीकृति लिए। त्यस्तै २८ गते ५ सय २०, २९ गते ४ सय ८२, ३० गते ६ सय ९० र ३१ गते ३ सय ५५ जनाले मात्र कतारका लागि श्रम स्वीकृति लिएका छन्।

 

श्रम स्वीकृति लिए पनि कतार प्रस्थान गर्ने कामदारको संख्या विभागसँग छैन। सिधा रुटमा हवाई टिकट महँंगो पर्नाले लागत शूल्क केही महँंगो पर्न गएको छ। यस हिसाबमा कतारका लागि उड्नेको संख्या भने केही कम रहेको हुनसक्ने विभागको अनुमान छ।

 

समान्यतया विदेशिने नेपालीको संख्यामा महिनैपिच्छे उतार चढाव आउने गर्छ। यो महिनामा कतार जानेको संख्या थोरै घटे पनि त्यो अस्वाभाविक दरमा नरहने प्रक्षेपण वैदेशिक रोजगार विभागको छ।