आचारसंहिता उल्लंघन तीव्र



धनकुटा, (नेस)
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिताको उल्लंघन पनि व्यापक रूपमा हुन थालेको छ।

राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले धनकुटामा बिहीबार आयोजना गरेको निर्वाचनपूर्वको मानवअधिकारको अवस्था विषयक अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताले राजनीतिक दलले आचारसंहिताको पालना नगरेको गुनासो गरेका छन्।

सो अवसरमा बोल्नु हुँदै मानवअधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीले विभिन्न राजनीतिक दलहरूले जुलुस, आमसभामा बालबालिकालाई पार्टीको टिर्सट, टोपीसहित सहभागी गराएको बताउनुभयो। उहाँले निर्वाचन आचारसंहिता विपरीत दलहरूले तोकिएको साइजभन्दा ठूलो झन्डा बनाउने, सार्वजनिक स्थल, बिजुलीको पोल, स्कुलको छेउछाउमा झन्डा गाड्ने जस्ता कार्य भइरहेकाले तत्काल बन्द गर्न आग्रह गर्नुभयो।

नागरिक समाजका अध्यक्ष द्रोणप्रसाद गुरागाईंले प्रशासनको अनुमतिविना राजनीतिक दलहरूले गाउँ–गाउँमा जुलुस, आमसभा गरेको उल्लेख गर्दै यस्ता निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू तत्काल बन्द गराउन प्रशासनसँग आग्रह गर्नुभयो। पर्डेप नेपालका कार्यकारी निर्देशक नरेशप्रसाद श्रेष्ठले दलहरूले निर्वाचन आचारसंहिताले तोकेभन्दा बढी खर्च गरेर मतदाताहरूलाई प्रभावित गर्ने गरी दल विशेषको टिर्सट, टोपी बाँड्ने, सार्वजनिक सवारीसाधनहरूमा झन्डा गाड्ने, गाडीमार्फत माइकिङ गर्नेजस्ता कार्य गरेकाले तत्काल बन्द गर्न प्रशासनसमक्ष माग गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले यदि कसैले निर्वाचन आचारसंहिता विपरीत पार्टीको कार्यक्रम गरेको भए तत्काल प्रशासन लिखित रूपमा जानकारी गराउन आग्रह गर्नुभयो। उहाँले अहिले गाउँ–गाउँमा पार्टीहरूले स्थानीय प्रशासनको अनुमतिविना जुलुुस, आमसभा गरेको सुनेकाले आगामी दिनमा त्यसो नगर्न दलहरूलाई आग्रह गर्नुभयो।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका मानवअधिकार अधिकृत नवराज सापकोटाले सरोकारवालाबाट आएको सुझावलाई मध्यनजर गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्न स्थानीय प्रशासनलाई आग्रह गर्नुभयो।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले आफूहरूबाट निर्वाचन आचारसंहिताको कुनै कार्यहरू भएको भए आगामी दिनमा सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्