कांग्रेस उम्मेदवारको प्रतिबद्धता सार्वजनिक



 

भद्रपुर, (नेस)
नेपाली कांग्रेस भद्रपुर निर्वाचन समितिले आसन्न स्थानीय तहको दोस्रो निर्वाचनका लागि पार्टीले तय गरेको ६७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

कांग्रेसका मेयर पदका उम्मेदवार गणेश पोखरेलले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ‘पूर्वको मुख्य व्यापारिक द्वार शान्त, सुन्दर, सम्बृद्ध भद्रपुर नगर’ लाई केन्द्र बिन्दु बनाएर शिक्षा, स्वास्थ्य, सञ्चार, वातावरण संरक्षण, मानव हात्ती द्वन्द्व नियन्त्रण, नदी नियन्त्रण, सडक सञ्जाल विस्तार, कृषि, उद्योग, मजदुर संरक्षण, गरिबी नियन्त्रण, बेरोजगारी समस्या हल, सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन विकासलगायत ६७ बुँदामा समेटिएको प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

नगर निर्वाचन परिचालन समितिका संयोजक नगर सभापति मोहन महर्जनले भद्रपुर नगरको नेतृत्व पटकपटक अन्य दलले लिए पनि विकास र स्तर वृद्धि हुन नसकेको भन्दै यसपटक नेपाली कांग्रेसले नेतृत्व पाए सम्बृद्ध भद्रपुर सम्भव रहेको स्पष्ट पारे। उनले कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा सम्बृद्धि अभियानको नारा पूरा गर्न नगरका उम्मेदवार सफल हुने विश्वास व्यक्त गरे।

मेयर पदका प्रत्यासी गणेश पोखरेलले बोली र नाराले नभएर काम गरेर भद्रपुरलाई सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले कृषि, पर्यटन र उद्योगको परिचालनबाट बेरोजगारी समस्या हल गर्दै गरिबी निवारण गर्ने वचनबद्धता प्रकट गरे। यस्तै उपमेयरकी उम्मेदवार तारा भुर्तेलले नारी अधिकार संरक्षण र कानुनी पहुँचका लागि इमानदार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्