आचारसंहिता अक्षरशः पालना गर्न आग्रह



 

रविन भट्टराई, ताप्लेजुङ
राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्न राजनीतिक दललाई आग्रह गरेको छ। निर्वाचनपूर्वको आचारसंहिता कार्यान्वयनको अवस्था अध्ययन गर्न ताप्लेजुङ आइपुगेको टोलीले विद्यालय हातामा कार्यक्रम नगर्न, निर्वाचन नै अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने थलो भएकाले निर्वाचन विरोधी नगर्न, पर्चा, पम्प्लेट र पोस्टरिङलगायतका कार्य निर्वाचन आयोगले तोकेभन्दा बढी हुने गरी नगर्न तथा बालबालिकाको प्रयोग भएको भए रोक्न आग्रह गरेको हो। आयोगको क्षेत्रीय कार्यालय विराटनगरका मानवअधिकार संरक्षण अधिकृत सन्तोष आचार्यले आचारसंहिताको सम्मान र संरक्षण गर्न आग्रह गरेका हुन्। दलका प्रतिनिधिले भने आचारसंहिताको पूर्ण पालनामा आफूहरू केही चुकेको भन्दै अब उप्रान्त आचारसंहिता विपरीत हुन नदिने प्रतिबद्धता जनाएका थिए। यता मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै राजनीतिक दललाई चुनाव चिन्ह अंकित टिसर्ट, झोला र टोपीजस्ता सामग्री बाँड्न र प्रयोग गर्न नहुनेतर्फ पुनः सचेत गराएको छ।

उसले यस्ता भड्किला प्रचार सामग्रीको प्रयोगले उम्मेदवारको खर्च धेरै हुने र आचारसंहिताले तोकेभन्दा बढी हुने भन्दै यसतर्फ सजग रहन आग्रह गरेको हो। राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ ताप्लेजुङ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अशोकुमार बस्नेतले आचारसंहिताको सम्मान गर्नु सबै दलको धर्म भएको बताए।

उनले निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्रीको प्रयोग नगर्न तत्काल हटाउन दलहरूलाई पुनः स्मरण गराएका छन्। कतिपय सञ्चार संस्थानले समेत निर्वाचन आचारसंहिता विपरीत दलका ठूला आकारका विज्ञापन प्रकाशन⁄प्रसारण गरिरहेकोतर्फ समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले ध्यानाकर्षण गराएको छ। आयोगका अनुसार रेडियोले बढीमा ४५ सेकन्डसम्मको मात्र निर्वाचन सामग्री सशुल्क प्रकाशन गर्न पाउनेछन् भने पत्रिकाको हकमा लम्बाइ र चौडाइ ७ इन्चभन्दा बढी नहुने गरी प्रचार सामग्री मात्र प्रकाशन गर्न पाउनेछ।

प्रतिक्रिया दिनुहोस्