झापाका उम्मेदवारहरुको नालीबेली



सुरुङ्गा (झापा) १ असार । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि झापामा नेपाली काँग्रेसले सबैभन्दा धेरै नयाँ र समावेशी अनुहारलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ । नयाँ अनुहार चुनावी मैदानमा उत्रिएसँगै उनीहरुले अहिले विजय उत्सवको शैलीमा सर्वसाधारणसँग मत मागिरहेका छन् ।

झापाका १५ स्थानीय तहमध्ये नेपाली काँंग्रेसले नौ प्रमुख पदमा समावेशी उम्मेदवार तयार पारेको छ जसमध्ये सात गाउँपालिका रहेको झापामा सात जनै समावेशी उम्मेदवार छन् । आठ नगरपालिकामध्ये दुई स्थानमा समावेशी उम्मेदवार तयार पारेको नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले बताउनुभयो ।

यता, नेकपा एमालेले छ, नेकपा माओवादी केन्द्रले चार र राप्रपाले चार स्थानमा प्रमुख पदमा समावेशी उम्मेदवार तयार पारेका छन् । एमालेले तीन नगरपालिका र तीन गाउँपालिकामा समावेशी उम्मेदवार तयार पारेको छ । माओवादी केन्द्रले दुई नगरपालिका र दुई गाउँपालिकामा समावेशी उम्मेदवार उठाएको छ । राप्रपाले एक नगरपालिका र तीन गाउँपालिकामा समावेशी उम्मेदवार चयन गरेको छ ।

काँग्रेसमा सबै नयाँ अनुहार

नेकाले झापाका १५ स्थानीय तहमध्ये आदिवासी जनजाति, मधेसी र महिलालाई समेटेर उम्मेदवारी दिएको छ भने कोच राजवंशीको आदिमकालदेखि बसोबास रहेको यस जिल्लाका तीन स्थानका गाउँपालिका प्रमुखमा भूमिपुत्र आदिवासी राजवंशी समुदायबाट उम्मेदवार बनाएको छ ।

आदिवासी समुदायबाट कचनकवल गाउँपालिकामा कालेन्द्र राजवंशी, बाह्रदशीमा खड्गप्रसाद राजवंशी र गौरीगञ्ज गाउँपालिकामा फूलवती राजवंशी (महिला)लाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी जिल्ला सभापति थापाले बताउनुभयो । जनजाति समुदायबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा जलकुमार गुरुङ, कमल गाउँपालिकामा हुकुमसिंह राई, हल्दिबारी गाउँपालिकामा दिलीप माबो लिम्बू र बुद्धशान्ति गाउँपालिकामा रमेश भुजेललाई अध्यक्ष पदको उम्मेदवार बनाइएको छ ।

मधेसी रैथाने बासिन्दाको समुदायबाट गौरादह नगरपालिकाको प्रमुखमा रोहित साह र झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण साहलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ ।

नेकाले चयन गरेका उम्मेदवारमा सबै नयाँ अनुहारका छन् । बीस वर्षअघि पनि तिनै र अहिले पनि तिनै अनुहारलाई जनताले भोट हाल्दैनन् । “यो २० वर्षमा नयाँ मतदाताको सङ्ख्या उल्लेख्य रुपमा बढेको हुँदा नयाँ जोस, जाँगर र सोच भएका नयाँ अनुहारलाई नै प्राथमिकतामा राखेर उम्मेदवारी तय गरिएको छ,” पार्टी सभापति थापाले भन्नुभयो । उहाँका अनुसार काँग्रेसले कुमरखोद गाविसका पूर्व उपाध्यक्ष जयनारायण साहबाहेक सबै नयाँ उम्मेदवार छन् ।

एमालेमा पुरानै अनुहार

एमालेले तीन नगरपालिका र तीन गाउँपालिकामा जनजाति र महिलालाई उम्मेदवार बनाएको छ । आदिवासी कोचको राजधानी मानिएको झापामा एमालेले आदिवासी समुदायबाट एकजना पनि उम्मेदवार बनाएको छैन भने मधेसी पनि उम्मेदवार छैनन् ।

एमालेले झापामा समावेशी उम्मेदवार बनाएकामा अर्जुनधारा नगरपालिकामा हरि रानामगर, भद्रपुरमा जीवन श्रेष्ठ र शिवसताक्षी नगरपालिकामा चन्द्र शेर्मा रहेका छन् । गाउँपालिकातर्फ एमालेले झापा गाउँपालिकामा गजेन्द्र ताम्लीलाई अध्यक्षमा उम्मेदवार बनाएको छ भने दुईवटा गाउँपालिकामा गैरआदिवासी जनजाति समुदायका महिलालाई अध्यक्षमा उम्मेदवार बनाएको छ । हल्दिबारीमा मञ्जु सिटौला र कमल गाउँपालिकामा मेनुका काफ्लेलाई अध्यक्ष पदमा टिकट दिइएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताउनुभयो ।

एमालेले झापामा पुरानै अनुहारलाई पुनः उम्मेदवार बनाएको छ । बीस वर्ष पहिले जनप्रतिनिधि भएका पुरानै अनुहारलाई प्राथमिकता दिएर एमालेले उम्मेदवार तय गरेको हो । मेचीनगर नगरपालिकामा प्रमुखको उम्मेदवार विष्णु प्रसाईं पूर्व जिविस उपसभापति हुनुहुन्छ । उहाँ पञ्चायतकालमा धाइजन गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनुभएको थियो ।

त्यसैगरी बिर्तामोडका प्रमुखका उम्मेदवार ध्रुव शिवाकोटी अनारमनी गाविसका पूर्व अध्यक्ष हुनुहुन्छ । अर्जुनधाराका प्रमुखका प्रत्यासी हरि रानामगर शनिश्चरे गाविसका पूर्व अध्यक्ष हुनुहुन्छ । त्यस्तै भद्रपुरका प्रमुखका उम्मेदवार जीवन श्रेष्ठ सोही नगरपालिकाका पूर्व उपप्रमुख हुनुहुन्छ । कनकाई नगरपालिकाका प्रमुखका प्रत्यासी राजेन्द्र पोखरेल सुरुङ्गा गाविसका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी, दमक नगरपालिकाका प्रमुखका उम्मेदवार एमाले अध्यक्ष केपी ओलीका भतिजा मात्र होइनन्, उहाँ २० वर्ष अघि पनि दमक नगरपालिकाका प्रमुख बन्नुभएको थियो । बाह्रदशी गाउँपालिकामा एमालेले अध्यक्षको उम्मेदवार बनाएका लक्ष्मण पाठक डाँगीबारी गाविसका पूर्व अध्यक्ष हुन् र गौरीगञ्ज गाउँपालिकाका अध्यक्षका प्रत्यासी श्याम ढकाल कोरोबारी गाविसका पूर्व अध्यक्ष हुन् । एमालेले पुराना र अनुभवी नेतालाई उम्मेदवार बनाएको दाबी गर्दै आएको छ ।

माओवादी केन्द्रमा को कहाँका उम्मेदवार

सबैभन्दा धेरै समावेशीताको नारा लगाउने नेकपा (माओवादी केन्द्र)ले झापाका दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानमा मात्र समावेशी उम्मेदवार बनाएर चुनाव लड्ने भएको छ ।

भद्रपुर नगरपालिकामा शिवकुमार राजभण्डारी र मेचीनगर नगरपालिकामा हंशलाल राजवंशीलाई प्रमुखमा उठाउने निर्णयसहित पार्टी अघि बढेको छ । कचनकवल गाउँपालिका अध्यक्षमा हंशराज राजवंशी र गौरीगञ्ज गाउँपालिकामा विद्यानन्द राजवंशीलाई अध्यक्षमा उम्मेदवार बनाएको माओवादी केन्द्रका नेता झलकसिंह दर्लामी सन्देशले बताउनुभयो ।

कोच राजवंशीको कोचिला राज्यको वकालत गर्ने माओवादी केन्द्रले झापामा काँग्रेसले जति नै तीन स्थानमा आदिवासी राजवंशी समुदायबाट प्रमुख पदमा उम्मेदवार बनाएको छ । महिला र मधेसीलाई प्रमुख पदको उम्मेदवारमा उसले समेट्न सकेको छैन ।

राप्रपाले आदिवासीलाई उठाएन

राप्रपाले झापामा एक नगरपालिका र तीन गाउँपालिका गरी चार स्थानमा समावेशी उम्मेदवार छनोट गरेको छ जसअनुसार मेचीनगर नगरपालिकामा अशोक सुब्बा लिम्बूलाई प्रमुखको उम्मेदवार बनाइएको छ । लिम्बू आदिवासी समुदायका उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी राप्रपाले कचनकवल गाउँपालिकाको अध्यक्षमा अल्पसङ्ख्यक मुस्लिम समुदायका अन्जर आलमलाई अध्यक्ष पदमा उतारेको छ । हल्दिबारीमा रवीन्द्र लिङ्देन र गौरीगञ्ज गाउँपालिकामा बाबुराजा श्रेष्ठलाई अध्यक्षमा टिकट दिइएको राप्रपा झापाका सचिव केशव ओझाले बताउनुभयो ।

राप्रपाले आदिवासी कोच राजवंशी, मधेसी र महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छैन । दलितलाई आरक्षण कोटामा उम्मेदवार बनाएको भए पनि झापामा कुनै पनि दलले दलितलाई प्रमुखमा उम्मेदवार बनाएका छैनन् । माओवादी केन्द्र र राप्रपाले पनि नयाँ अनुहारलाई नै उम्मेदवार बनाएको छ ।

स्वतन्त्र उम्मेदवार पनि पुरानै

विवेकशील नेपाली दलबाहेक अन्य स्वतन्त्र उम्मेदवार बनेका पनि पुरानै अनुहारका छन् । बिर्तामोड, दमक, कनकाई नगरपालिकाका लागि स्वतन्त्र उम्मेदवार बनेका अधिकांश प्रमुख तथा उपप्रमुख पुरानै अनुहारका छन् । रासस

प्रतिक्रिया दिनुहोस्