उम्मेदवारले रोपाइँ गर्दै भोट मागे



भोजपुर, १ असार । भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा घरदैलो कार्यक्रममा गएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले किसान खेतबारीमा व्यस्त देखेपछि रोपाइँमा सघाउँदै भोट माग्न थालेका हुन् । २००७ सालका क्रान्तियोद्धा जननायक रामप्रसाद राईको नामबाट नामाङ्कन गरिएको यो गाउँपालिका धार्मिक, साँस्कृतिकरुपले समेत ऐतिहासिक गाउँपालिकाका रुपमा चिनिँदै आएको छ ।

जनश्रममा यतिबेला नेकपा (माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार थामबहादुर राई (निर्माण) सँगै उपाध्यक्षका उम्मेदवार सम्झना राई (सन्ध्या) र कार्यकर्ता किसानका खेतमा धान रोप्न र मकै दोहो¥याउन व्यस्त रहेका बताइएको छ ।

वर्सात लागेसँगै किसान खेतीपातीमा व्यस्त भएको र एक ठाउँमा बोलाएर चुनावी सभा गर्दा किसानलाई काममा बाधा पर्ने भएका कारण मतदाताको खेतबारीमै गएर काम सघाउँदै भोट माग्दा सजिलो हुने उनीहरुको भनाइ छ ।

रोपाइँ गर्दै भोट माग्ने भने अहिले सम्मकै नौलो तरिका देखिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार थामबहादुर राईसँग नेपाली काँग्रेसका दिनेश कार्की र नेकपा (एमाले)का विजय राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्