प्रचार सामग्री बनाउन व्यवसायीलाई चटारो



दाङ, १ असार । दोस्रो चरणको आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रचार सामग्री बनाउन यहाँका व्यवसायीलाई चटारो छ ।

निर्वाचन आउन झन्डै दुईहप्ता मात्र बाँकी रहँदा उनीहरुलाई राजनीतिक दलको झन्डा, उम्मेदवारको नाम र टिसर्ट, ब्यानर, प्रचार पम्फ्लेट बनाउन चटारो रहेको छ । दाङको घोराही, तुलसीपुर, लमहीका क्लर ल्याब, छापाखाना र स्क्रिन सेन्टरमा व्यवसायीले रातदिन लगाएर निर्वाचन सामग्री बनाउन लागिपरेका छन् ।

तुलसीपुरस्थित इन्दे्रणी कलर ल्याबका सञ्चालक सुदीप खड्काले दोस्रो चरणको निर्वाचन घोषणा भएदेखि निर्वाचनसम्बन्धी सामग्री बनाइरहेको बताउनुभयो । “केही दिनदेखि कामको चाप बढेको छ । रातिसम्म काम गर्छौं”, उहाँले भनुभयो ।

त्यसैगरी, व्यवसायीले दैनिक उम्मेदवार र विभिन्न पार्टीका झन्डा, टिसर्ट र व्यानर बनाउन आउने गरेको व्यवसायी हरि डाँगीले बताउनुभयो । एउटा झन्डाको रु २५ देखि रु ११०, टिसर्टको रु १७० देखि रु २५० मूल्य पर्ने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्