इटहरीमा साझा पार्टीबाट, काफ्ले र परियार



 

नेपाल समाचारपत्र
इटहरी
साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा इटहरी उप–महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिने निर्णयगरेको छ। सो पार्टीले सोमबार एक वक्तव्य प्रकाशित गरी पार्टी निर्माण प्रक्रियाको ६ हप्तामै काठमाडौं र ललितपुर महानगरपालिकामा उम्मेदवारी दिएर सम्मानजनक मत ल्याएको र वैकल्पिक राजनीतिका लागि आफ्नो पार्टीलाई परिपक्व विकल्पका रूपमा हेरिएको दाबी गरेको छ।

सो पार्टीले इटहरीको मेयरका लागि प्राध्यापन र समाज सेवामा संलग्न डा. सुश्री तारा काफ्ले र उपमेयरका लागि पत्रकार तथा अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको जनाएको छ।

दोस्रो चरणको निर्वाचनमा सो पार्टीले इटहरीमा मात्रै उम्मेदवारी दिने बताएको छ। मेयरका उम्मेदवार डा काफ्लेले जनसंख्या तथा जनस्वास्थ्यमा स्नातकोत्तर र सामुदायिक चिकित्सामा काशी हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छिन्। इटहरी उप–महानगरपालिका वडा नं. ५ निवासी ३८ वर्षीया काफ्ले जनसंख्या, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अध्यापन, अनुसन्धान तथा समाज सेवामा सक्रिय छिन्। उनी इटहरी उप–महानगरपालिका वडा नं. ५ स्थित सेवामूलक विद्यालय ‘अमूर्त अक्याडमी’ को संस्थापक अध्यक्ष हुन्। नैतिक जीवन र आध्यात्मिक चिन्तनमा विश्वास गर्ने काफ्ले हाल काठमाडौं विश्वविद्यालय, विराट मेडिकल कलेज, टंकिसिनवारी, मोरङमा उपप्राध्यापकका रूपमा कार्यरत छिन्। उनी आफ्ना उपमेयरका उम्मेदवार प्रकाशचन्द्र परियार र साझा पार्टीको विज्ञ टोलीसँग मिलेर इटहरीलाई सम्पूर्ण देशकै नमुना शहरका रूपमा विकास गर्ने खाका निर्माण गर्न कटिबद्ध रहेको सो पार्टीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्