राजपा चुनावबाट भाग्न मिल्छ ?



 

मुलुक अहिले चुनाव चाहन्छ। जनता चुनाव चाहन्छन्। के मधेस, के पहाड, के हिमाल सबैतिरका जनता अहिले आफ्नो मताधिकार प्रयोग गर्नका लागि लालायित छन्। तर, मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीले भने स्थानीय तहको दोस्रो चरणको चुनावमा नजाने र बिथोल्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। के चुनावमा नगएर जनताबाट भाग्न कुनै पनि राजनीतिक दलले मिल्छ वा सुहाउँछ ? अनि के जनचाहनाविपरीत चुनाव बिथोल्छु भन्दै हिँड्नु लोकतान्त्रिक चरित्र हो ? प्रश्न अनेक उठिरहेका छन्। यस सम्बन्धमा नेपाल समाचारपत्रले मधेस आन्दोलनलाई नजिकबाट नियालिरहनुभएका विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गरेको छ। के भन्नुहुन्छ उहाँहरु ? प्रशान्त वलीको प्रस्तुतीः

 

‘चुनाव बिथोल्नु
उपयुक्त कदम होइन’
रामकृष्ण यादव
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्दैगर्दा पहिलो चरणको स्थानीय तहको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्था छ। राष्ट्रिय जनता पार्टीलाई सम्बोधन गर्दै र सहमतिमा ल्याएर निर्वाचन होस् भन्ने हामी सबैको चाहना हो। अहिले सहमतिको वातावरण तयार गर्नका लागि नै मिति सार्ने काम भएको सबैमा सर्वविदितै छ। संविधान संशोधनको मुद्दालाई नेपाली कांग्रेसले समेत आफ्नो मुद्दा बनाइसकेको छ।

अहिले जनताले निर्वाचन चाहेका छन् र उम्मेदवारहरु प्रचारप्रसारमा समेत लागि सकेको अवस्था छ। अहिले सरकारले मधेस केन्द्रित दलसँग वार्तासमेत अगाडि बढाइरहेको छ। एक⁄दुई दिनमै निकास निस्किएला र राजपा चुनावमा आउला भन्ने आशा गरौं। पक्कै पनि निर्वाचनलाई रोक्ने कार्यक्रम कसैले पनि गर्नु जायज होइन। राजपाले मधेसमा बन्दसम्मको कार्यक्रम घोषणा गरेको छ। लोकतन्त्रमा आफ्ना कार्यक्रम जो कोहीले अगाडि सार्न सक्छन्। तर, देश निर्वाचनमय भएको अवस्थामा चुनाव बिथोल्नु उपयुक्त कदम होइन। सहमति र सहकार्यबाट देशलाई निकास दिन उनीहरु लाग्नुपर्दछ।

 

‘राजपा जनतासँग
भाग्न मिल्दैन’
धर्मेन्द्र झा
पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ
अहिले देश चुनावमय भएको छ। मुख्य कुरा संघीयता कार्यान्वयन गर्नु हो। समस्याको समाधान वार्ता र संवादबाट हुनुपर्दछ। आन्दोलन र नाराबाजीबाट देश अग्रगमनतर्फ उन्मुख हुन सक्दैन। सत्ता पक्ष माग सम्बोधन गर्न लचक भएको कुरा मिडियामा आइरहेको छ। त्यस कारण देशलाई कसैले पनि बन्धकमा राख्नु हुँदैन। लोकतन्त्रले दिएको अवसरको पूर्णरूपमा प्रयोग गर्नुपर्छ। प्रतिपक्षबिना संविधान संशोधन हुन सक्दैन भन्ने कुरा राष्ट्रिय जनता पार्टीले पनि राम्रैसँग बुझेको छ।

प्रतिपक्ष संविधान संशोधनको पक्षमा छैन। चुनावको सर्त नै संविधान संशोधन गराईनु उचित होइन। यो मधेस केन्द्रित केही दलको चुनावमा भाग नलिने मनशाय हो। अहिले चुनावको समयमा भन्दा पनि अनुकूल अवस्थामा संविधान संशोधनको मुद्दा उठाउन सकिन्छ। आन्दोलनले कहिल्यै पनि देश प्रगतितर्फ उन्मुख हुँदैन। तसर्थ, अब राजपाले जनतासँग भागेर भन्दा पनि जनमतको कदर गरेर अघि बढ्नुपर्छ र चुनावमा भाग लिनुपर्छ। त्यसका लागि सरकारले ढोका खोलेको बताउँदै आएको छ।

 

‘अधिकार गाउँमा पुर्याउन पनि
राजपा चुनावमा जानुपर्छ’
मातृका यादव
नेता, नेकपा माओवादी केन्द्र
मधेसको माग सम्बोधन नगरेकाले स्थानीय तहको चुनावमा भाग लिन्न भन्ने राष्ट्रिय जनता पार्टीको धारणा रहेको छ। एमालेले राख्दै आएको राष्ट्रवादी अडान र कांग्रेसको ढुलमुले सोचका कारण अहिले यो अवस्थामा संविधान संशोधन होलाजस्तो छैन। र, कांग्रेस, एमालेले संविधान संशोधन तत्काल गर्न पनि चाहँदैनन्।

अहिले देश संघीयता कार्यान्वयनतर्फ उन्मुख छ। स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनका लागि भए पनि मधेस केन्द्रित दलहरुले चुनावमा भाग लिनैपर्छ। मधेसी जनता अहिलेपनि निकै पछाडि पारिएका छन्। सिंहदरबार केन्द्रित रहेको अधिकारलाई गाउँ–गाउँसम्म पुर्याउन राष्ट्रिय जनता पार्टी चुनावमा जानुपर्छ। चुनावमा भाग लिन्न भन्नु जनताको अभिमतलाई गुमराहमा पार्नु हो।

 

‘सत्ता पक्षमा बसेर
आन्दोलन गर्न मिल्दैन’
डा. राजेश अहिराज
मधेस मामिलाका जानकार
लोकतान्त्रिक दलले निर्वाचनमा भाग लिन्न भन्नु जायज कुरा होइन। राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा आउन नदिन सरकारले जुन भूमिका खेलेको जस्तो देखिएको छ, मधेस केन्द्रित दलसँग गत वर्ष नै मुद्दामा सम्झौता भएको थियो।

पात्र तीनै, एजेन्डा तीनै हुन्। न्यूनतम कुरा भए पनि मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिनुपथ्र्यो। जस्तो कि आयोग गठन गर्ने, शहीद घोषणा, क्षतिपूर्ति दिलाउनेलगायतका कुरा। केही पनी नगर्नु भनेको राजपालाई चुनावमा आउन नदिने षड्यन्त्र गर्नुजस्तै हो। अहिले चुनाव नभएका मधेस केन्द्रित ठाउँहरुमा एमालेको भन्दा कांग्रेसको पकड राम्रो छ। त्यही भएर राजपा चुनावमा नगए प्रजातान्त्रिक मत कांग्रेसले पाउँछ भन्ने लागेको होला। कांग्रेसको भित्री इच्छा राजपा चुनावमा नजाओस् भन्ने छ। अनि राजपा चुनावमा गएन भने कांग्रेसले मधेसमा बेस बनाउने योजना बुनेको छ। निर्वाचन देश र जनताका लागि हो। निर्वाचनमा आउनुपर्छ भनेर कसैको पनि पाउ छुनु उचित मानिँदैन।

निर्वाचनमा गयो भने राजपाको संगठन जोगिन्छ र निर्वाचनमा गएन भने मुद्धा जोगिन्छ। मुख्य कुरा सरकार बनाउँदा राजपाले कांग्रेसलाई सहयोग गरेको छ। केन्द्रमा मताधिकारको प्रयोग गर्ने तर, जिल्लामा मत अधिकारको प्रयोग गर्न दिन्न भन्नु नाजायज हो। सरकारलाई मत दिनुभनेको सत्ताको प्रयोग गर्नु सरह हो। आफू सत्ता पक्षमा बसेर आन्दोलनको घोषणा गर्नुहुँदैन। अहिले मधेस बन्दको घोषणा गर्नु गैरराजनीतिक क्रियाकलाप हो। राजपाले जनतालाई बन्धक बनाएर राजनीति गर्न कुनै हालतमा पनि मिल्दैन।

 

‘आन्दोलन मार्फत्
समस्याको निकास निस्कँदैन’
तुलानारायण शाह
मधेस मामिलाका जानकार
परिस्थिति निकै जटिल छ। स्थानीय तहको चुनावको मिति दिन प्रतिदिन नजिकिँदै छ। तर, मधेस केन्द्रित दल विशेषतः राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मधेसवादी दलहरुको यो पुरानो आन्दोलन हो। ७औं संविधान बन्दै गर्दादेखि नै मधेसमा ठूल्ठूला आन्दोलन महिनौंसम्म भए।

नाकाबन्दीको समेत सामना गर्नुपर्यो। यसबीचमा सरकार धेरै फेरिए पनि मधेसी दलका मागहरु कसैले पनि पूरा गरेका छैनन्। पहिला संविधान बनाऔं अनि पछि संशोधन गरौंला त भनियो तर, कसैले पनि संशोधन गर्न मानेनन्। तसर्थ राजपाले उठाएको मुद्दा र गर्दै आएको आन्दोलनलाई सरकार र आन्दोलनरत पक्ष बीचको समझदारीमा हटाउनुपर्छ। संसशेधन प्रस्ताव सरकारले सदनमा लगेको छ।

उक्त प्रस्ताव पारित गरेर समस्याको समाधान खोजिनुपर्छ। तर, आन्दोलन मार्फत् समस्याको निकास निस्कँदैन। बरु यसले मुलुकलाई झन् दुर्घटनातर्फ फसाउँछ। सरकार र राष्ट्रिय जनतापार्टीसँग सकारात्मक हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्