ठूला दलबाट प्रमुखमा महिला शून्य



 

अनिल खत्री, गुल्मी

दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा गुल्मीमा प्रमुख दलबाट अध्यक्ष वा प्रमुख पदमा उम्मेदवार शून्य रहेका छन्। जिल्लामा तीन ठूला दलबाटै महिलाहरू प्रमुख पदमा उम्मेदवार बनाइएका छैनन्। ठूला दलमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले प्रमुख पदमा महिलालाई उम्मेदवार नबनाउँदा जिल्लामा महिला उम्मेदवारको संख्या शून्य रहेको छ।

दलहरूले महिलालाई संविधानले व्यवस्था गरेअनुरूप मात्र उम्मेदवार बनाएका छन्। नगर र गाउँपालिकादेखि वडा तहका प्रमुख पदमा ठूला दलहरूले महिलाहरूलाई प्रमुख पदमा नेतृत्व दिएका छैनन्। नेतृत्व तहमा धेरै महिलाको नाम चर्चामा रहे तापनि उम्मेदवारको हकमा महिलाहरू अग्रस्थानमा देखिएका छैनन्। ‘महिला उम्मेदवार शून्य देखियो’, एमाले निकट महिला नेतृ सीता भुसालले भनिन्– ‘अझै पनि हाम्रो समाजमा पुरुष हाबी छन्। त्यो स्थानीय तहका उम्मेदवार छनोटमा देखिन्छ।’
महिलालाई अवसर दिए पनि अझै नेतृत्व तहमा विश्वास नगर्ने मनोविज्ञान नहटेको भुसालले बताइन्। उम्मेदवार छनोटमा दलहरूले संविधानले गरेको अनिवार्य व्यवस्थामा मात्र गरेको छ। सीमितभन्दा बाहिर नगएको उनले बताइन्।

धेरै महिला क्षमतावान् थिए र छन् त्यसको कुनै पनि पार्टीबाट कदर नभएको उनको भनाइ रहेको छ। जिल्लाको हकमा ठूला पर्टीबाटै एक जना पनि महिला प्रमुख पदमा नआउनु दुःखद पक्ष रहेको सापकोटाले बताइन्। ‘प्रमुख पदमा महिला नेतृत्वमा नआउँदा नयाँ पिँढीमा पनि नराम्रो सन्देश जान्छ’, सापकोटाले भनिन्– ‘महिलाको अधिकार नारामा भन्दा व्यवहारमा ल्याउन चुनौती थपिएको छ।’ जिल्लामा रहेका २ नगरपालिकासहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महिला उम्मेदवार भने एक जना मात्रै उठाइएको छ।

तीन प्रमुख दलसहित ११ वटा क्रियाशील राजनीतिक दलमध्ये माओवादी केन्द्रले मात्र इस्मा गाउँपालिकामा विमला थापालाई प्रमुख पदमा उम्मेदवारका रूपमा महिला उठाएको हो। इस्मा–५, साविकको इस्मारजस्थल गाविसकी ३७ वर्षीया थापा माओवादी जनयुद्धकालदेखिकी सक्रिय कार्यकर्ता रहेको र अनेम संघ क्रान्किारीकी जिल्ला सदस्य तथा इस्मा गाउँपालिका स्तरीय संगठनकी कोषाध्यक्ष हुन्।

यहाँका कुनै पनि दलले महिलालाई प्रमुख पदको उम्मेदवार नउठाएको अवस्थामा माओवादी केन्द्रले मात्र एक जना महिलालाई अवसर दिएको छ। प्रमुख पदमा पार्टीले उठाउला भन्ने लागेको थियो ? भन्ने प्रश्नमा थापाले भनिन्– ‘पार्टीले पनि मौका दियो र म आफूले पनि केही गर्न सक्छु भन्ने देखाउनेछु।’

प्रतिक्रिया दिनुहोस्