पाल्पामा चुनावी प्रचार, कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र प्रतिस्पर्धा हुने



कविराज नेपाल, पाल्पा
झन्डै दुई दशकपछि आफ्नो समुदाय र विकासको भविष्यसँग जोडेर हुन लागेको आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा पाल्पामा चुनावी तयारी साथै चुनावी चहलपहल बढ्न थालेको छ।

पाल्पामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टी चुनावी प्रचारप्रसार अभियानमा जुटेका छन्। सबै पार्टीले उम्मेदवार टुंगो लगाएपछि आ–आफ्ना पार्टीका प्रतिबद्धता लिएर नेताहरू घरदैलो अभियानमा लागेका छन्। पाल्पामा २ वटा नगरपालिका र ८ वटा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

जिल्लाका केही गाउँपालिकामा गठबन्धन भएर चुनावी प्रतिस्पर्धा हुने भएको भए पनि अधिकांश ठाउँमा यी दलहरू चुनावी प्रतिस्पर्धामा होमिएका छन्। जिल्लाको निस्दी गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ भने पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकामा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमोर्चाले तालमेल गरी उम्मेदवारी दिने सहमति भएको ती पार्टीहरूले बताएका छन्।

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वडावडा टोलटोलमा प्रचारप्रसार कार्यालय खोली घरदैलो अभियानमा जुटेका छन्। ३ वटै पार्टीले आ–आफ्नो पक्षमा जनमत बटुल्न, स्थानीयतहका घोषणापत्रसँगै महत्त्वपूर्ण योजनाहरू सार्वजनिक गर्दै आएका छन्। जिल्लाको प्रमुख समस्याको रूपमा रहेको सडक, खानेपानीको समस्या समाधानका लागि प्राथमिकता दिएर उम्मेदवारहरूले घरदैलो अभियान चलाएका छन्। नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले दुई नगरपालिका र आठवटै गाउँपालिकाको वडा समितिसमेतको क्रियाशीलतामा चुनावी अभियान तीव्र पारेको बताउनुभयो।

कांग्रेस, एमाले पुरानो जनधारलाई विश्वास मानी चुनावी अभियानमा जुटिरहेको समयमा नेकपा माओवादी केन्द्र नयाँ रणनीतिका साथ चुनावी अभियानमा होमिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा र जनमुक्तिको जिल्लाका विभिन्न स्थानमा पकड क्षेत्र रहेकाले तालमेल गरी आ आफ्नो पक्षमा जनमत पार्ने अभियानमा लागेका छन्। नेकपा एमालेका अध्यक्ष नारायण आचार्यले विगतमा आफूहरूले राम्रो परिणाम ल्याएको र सोहीअनुसार चुनावी अभियानलाई तीव्र पार्दै लगेको जानकारी दिनुभयो।

जिल्लाका चुनावी मुद्दा
जिल्लामा क्रियाशील दलहरूले जिल्ला सदरमुकाम तानसेनको खानेपानी, पर्यटन विकास र स्थानीय स्रोतसाधनको उपयोगलाई चुनावी मुद्दा बनाएका छन्। सँगसँगै रोजगारी सिर्जना, कृषि र अन्य स्थानीय तहका मुद्दा लिएर दलहरू अघि बढेका छन्। त्यसो त जिल्लामा राष्ट्रिय जनमुक्ति पार्टी, जनशक्ति पार्टी, नेकपा मालेलगायतका दलहरूले पनि केही वडाहरूमा उम्मेदवारी दिने तयारी गरेका छन्। उनीहरू राष्ट्रिय रूपमा बनाइएको आ–आफ्ना चुनावी घोषणापत्रको साथ चुनावमा होमिएका छन्।

चुनावी तयारी
आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी पाल्पामा तीव्र रूपमा अगाडि बढेको छ। जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनको लागि आ–आफ्नो कामको तयारी अगाडि बढाएका छन्।

पाल्पाका १० वटै स्थानीय तह निर्वाचनका लागि १ हजार २ सय ६६ जना कर्मचारी खटिने भएका छन्। निर्वाचनमा खटिने मतदान अधिकृतदेखि सहायक कर्मचारीहरूलाई जिल्लामा तालिम दिएर मात्र कार्यस्थलमा खटाइने तयारी भइरहेको छ। मतदान स्थलमा खटिने कर्मचारी छनोट तथा नियुक्ति गर्ने काम भइरहेको छ। जेठ १५ गते पाल्पाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भई काम शुरू भइसकेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनलाई व्यवस्थित भयरहित शान्तिपूर्ण सम्पन्न गर्नका लागि व्यवस्थापनमा लागेको छ। कार्यालयले दिनहँु निर्वाचन आयोगले मतपत्रलाई रुजु गर्ने काम गर्दै आएको छ। दैनिक २० जना कर्मचारीहरूले मतपत्रलाई व्यवस्थित गर्दै क्रम संख्याअनुसार मिलाउने च्यातिएका बिग्रिएका मतपत्र हटाउने, मतदान केन्द्रमा पठाउने पत्रपत्रको क्रम संख्या मिलाउने र रेकर्ड राख्ने प्याकिङ गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत भरतमणि खनालले बताउनुभयो।

दलहरूले आचारसंहिता उल्लंघन नगरून् भनी राजनीतिक दलका प्रमुखसँग छलफल अन्तरक्रिया गरेको छ। जिल्लामा स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ३ चरणको सुरक्षा रणनीति बनाएर काम गर्दै आएको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताउनुभयो। मतदान स्थलमा अवाञ्छनीय गतिविधि नहोस् भनी जिल्लाका सबै मतदान स्थलमा अनुगमन र निरीक्षण गर्दै आएको प्रजिअ गौतमले बताउनुभयो। पाल्पामा २ लाख ६२ हजार २ सय ५३ मतदाता रहेका छन्। आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि पाल्पामा १ सय १८ वटा मतदान केन्द्र र २ सय ११ वटा मतदान स्थल तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्