नेपाल समाचारपत्र
काठमाडौं
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो कार्यकाल सफल हुने दाबी गरेका छन्।
राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै विश्लेषक दाहालले बाँकी तीन तहकै निर्वाचन निर्धारित मितिभित्रै सम्पन्न गर्न सके प्रधानमन्त्री देउवाको चौथो कार्यकाल पूर्ण सफल हुने स्पष्ट पारेका हुन्।
उनले अघि थपे– ‘कांग्रेस नै देउवाको चुनौती हो, उनको विगत हेर्दा मिलाएर अघि बढ्न सक्छन्, जसले मिलाउने सामथ्र्य राख्छ त्यो नै सफल बन्छ, आजको खाँचो पनि यही हो, मित्र राष्ट्रसँगको सम्बन्ध, तीन तहको निर्वाचन गर्नु, विकासका आधारस्तम्भ खडा गर्नुजस्ता कुराहरू चुनौतीका रूपमा उभिएका छन्, उनले चुनौतीलाई अवसरमा देखेको खण्डमा उनको राजनीतिक इतिहास संग्लिने छ, यदि सन्तुलनको कमी देखाए भने उनको राजनीति अवसान हुनेछ।’
अर्का विश्लेषक एवं कूटनीतिज्ञ विजयकान्त कर्णले प्रधानमन्त्रीमा देउवाको यो चौथो कार्यकाल भएकाले तीनवटै तहको निर्वाचन सम्पन्न गरे सफल मानिने बताएका छन्।
उनले भने– ‘हामीले तीनवटा सरकार हेरिसकेका छौं, अब हाम्रो बीचमा चौथो कार्यकालको नेतृत्व बोकेर आएका छन्, उनले हिजोको जस्तो सत्तालाई दुरुपयोग गर्ने छैनन्, उनको जीवनमा यो कार्यकाललाई अवसरको रूपमा लिनुपर्छ, आजको आवश्यकता भनेको मधेसी मोर्चाका माग सम्बोधन गर्नु हो, मलाई लाग्छ मधेसका समस्या संसद्मा छैनन।’ तराईका जनताका बीचमा छन्,
वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले मुलुक सिद्धान्त र विचारका आधारमा चल्नुपर्ने बताएका छन्। पछिल्लो चरणमा कांग्रेस र माओवादीबीचको गठबन्धनबाट नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो कार्यकाल विचारको हिसाब भन्दा पनि सत्ताको लोभबाट बनेको उनको गुनासो छ।
उनले भने– ‘यसले मुलुकलाई सहज अवस्थामा पुर्याउँदैन, कुनै बेला टाउकाको मूल्य तोक्ने र गोली ठोक्नेहरू आज कुन विचारको आधारमा एक भए ?, यसभित्र ठूलो रहस्य छ, सत्ता हत्याउने र परिवारलाई निर्वाचनमा जिताउनका लागि मात्रै हो।’
स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि देउवा र प्रचण्डलाई मधेसमा गएर त्यहाँका जनताको आवाज सुन्नसमेत उनले सुझाव दिए। त्यस्तै दीक्षितले भारतसँगको सम्बन्ध जतिसक्दो चाँडो सुल्झाउनुपर्ने बताए।
उनले भने– ‘देउवाको सामुन्नेमा भारतसँगको सम्बन्ध सुधार गर्नु अर्को चुनौती छ, अब भारतसँग निर्वाचनमा लड्ने पैसा माग्ने होइन। सत्तामा बस्नका लागि शीर निहुराउने होइन, अरूले जे भने पनि भारतका प्रधानमन्त्री मोदीले नेपाललाई हेर्ने दृष्टिकोण निक्कै फरक छ, उनको पालामा हाम्रो देशले विकास, निकास, सन्धि सम्झौता जस्ता कार्यको सबल उपचारका लागि देउवाले रणनैतिक कदम चाल्नुपर्छ।’
त्यस्तै अर्का वाम राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल सफल बनाउनका लागि सत्ता व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन्।
उनले भने– ‘देउवा र प्रचण्ड मिलेर वर्तमान सत्ता चलाइरहेका छन्, अब देउवा र प्रचण्डको काँधमा मुलुकका धेरै समस्या थपिएका छन्, ती समस्या समाधान गर्नका लागि निक्कै प्रयत्नशील रहनुपर्छ, सत्ता व्यवस्थापन, मधेसवादी दललाई सरकारमा ल्याउने कुरा, मधेसी जनताका माग पूरा गर्ने कुरा, प्रतिपक्ष दल एमालेलाई विश्वासमा ल्याउँने कुरा यी सारा कुरालाई दिगो रूपमा व्यवस्थापन गर्न सक्नु नै आजको आवश्यकता हो, आजको आवश्यकता निर्वाचन होइन।’
प्रतिक्रिया