कतारमा बुझ्दै सरकार

0
Shares

रोविन पौडेल, काठमाडौं

छिमेकी देशहरूले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरेसँगै त्यहाँ रहेका नेपालीको बारेमा बुझ्न निरन्तर प्रयास जारी रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

घोषणासँगै नेपाली श्रमिक समस्यामा पर्ने समाचार नेपाली सञ्चार माध्यममा छाए पनि त्यहाँ रहेका श्रमिकको बुझाइ र समस्याका बारेमा अहिलेसम्म कुनै जानकारी नआएको मन्त्रालयले जनाएको छ। कतारमा रहेका नेपालीको बारेमा बुझ्न श्रम तथा रोजगार मन्त्रालयका सूचना अधिकारी गोविन्दमणि भुर्तेलले मंगलबार बिहानै कतारस्थित श्रम सहचारीसँग कुरा गरी त्यहाँको अवस्था बुझ्नुभएको थियो। तर, त्यहाँबाट ‘बुझ्दै छौं’ भन्ने प्रतिक्रिया आएको उहाँको भनाइ छ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै भुर्तेलले भन्नुभयो–‘कतारमा रहेको नेपाली राजदूतावासलाई कति नेपाली मारमा परे भन्ने विषयमा अहिलेसम्म कुनै सूचना आएको छैन। सूचना आउना साथ दूतावासले मन्त्रालयलाई जानकारी गराइहाल्ने छ।’

मन्त्रालय र दूतावास दुवै त्यहाँ आउनसक्ने परिवर्तनको विषयमा पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो।

नेपाली श्रमिकबीच यस खटपटकै कारणले समस्या परे तुरुन्तै त्यहाँ रहेको दूतावासमा खबर गर्न मन्त्रालयले आग्रहसमेत गरेको छ। भुर्तेलले भन्नुभयो–‘नेपालीलाई जुनसुकै समस्या परे तुरुन्तै खबर गर्न आग्रह गर्छौं। नेपालीलाई परेको समस्या हल गर्न हामी सदा तत्पर छौं।’

कतारसँग छिमेकीले कूटनीतिक सम्बन्धमात्र तोडेकाले निर्माण कार्यमा कुनै समस्या नआउने उहाँको बुझाइ छ। खटपटका कारण छोटो अवधिमा कुनै समस्या नपर्ने उहाँले दाबी गर्नुभयो। ‘तर दीर्घकालीनरूपमा भने केही हदसम्म फरक पर्न सक्छ’–उहाँको भनाइ छ।

यता परराष्ट्र मन्त्रालयले कतारमा रहेका नेपाली अहिलेसम्म कुनै समस्यामा परेको जानकारी नआएको बताएको छ।

मन्त्रालयले त्यहाँ रहेका नेपालीमा कुनै अप्रिय घटना नभएको जनाएको छ।हवाई उडान रद्द गरेसँगै नेपालबाट कतार जाने नेपालीलाई कुनै असर नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवानन्द उपाध्यायले बताउनुभयो।

‘यात्रुहरूले ट्रान्जिटबाट कतार जान नपाउने भएपछि नेपालीले कतार एयरवेज, नेपाल वायुसेवा निगम तथा हिमालय एयरलाइन्समध्ये कुनै विमान प्रयोग गर्ने गरेका छन्।’ नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो। उहाँका अनुसार आवुधावी, दुबई तथा सारजाह ट्रान्जिटमार्फत् कतार जाने नेपालीले काठमाडौं–दोहा सिधैं रुट प्रयोग गरेका छन्। तर, ती एयरलाइन्सको टिकट तुलनात्मक रूपमा केही महँगो भएकाले केही बढी खर्च हुने उहाँको भनाइ छ।

नेपालीहरूको प्रमुख श्रम गन्तब्य रहेको कतारमा ६ लाखभन्दा बढी नेपाली रहेका छन्। चालू आवमा मात्रै २ लाख ५० हजारभन्दा बढी नेपाली रोजगारीको सिलसिलामा कतार गएको वैदेशिक रोजगार विभागले जनाएको छ।