प्रहरी निरीक्षक दिक्षान्त समारोह सम्पन्न


नेपाल समाचारपत्र,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा १६५औं समूह प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले कवाज निरीक्षण गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई पुरस्कार वितरण गर्नुभयो। पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूमा तालिममा सर्वप्रथम हुने नारायण थापा, सर्वद्वितीय तथा शारीरिक व्यायाम प्रथम मोतिलाल योञ्जन तामाङ, सर्वतृतीय केशवराज भट्ट, अध्ययन प्रथम नरेशराज मल्ल, कवाज प्रथम नरबहादुर साउद, प्रहरी युक्ति तथा कारबाही प्रथम दीपक थापा, चाँदमारी प्रथम पुष्करराज पन्त र महिलातर्फ प्रथम अनु लामा रहेका छन्।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल प्रहरीको इतिहास त्याग, समर्पण, कर्तव्यनिष्ठ, बलिदान एवम् ‘सत्य सेवा सुरक्षण’प्रतिको प्रतिवद्धता भएकोले यस्तो गरिमामय तथा संवेदनशील कार्यभारप्रति दीक्षित अधिकृतहरू परिचित मात्रै नभई अभ्यस्त नै हुनुपर्ने बताउनुभयो।

राज्यको आन्तरिक सुरक्षाको महत्वपूर्ण र गहन जिम्मेवारी पाएको नेपाल प्रहरीका प्रत्येक सदस्यहरूलाई नागरिकप्रति सदैव उत्तरदायी र जिम्मेवार रहँदै अझै बढी जनमुखी, जनउत्तरदायी र व्यवसायिक रुपमा सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले पहिलो चरणको निर्वाचनमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँले दोस्रो चरण तथा प्रदेश र संघका निर्वाचनहरूमा समेत यस्तै भूमिकाको अपेक्षा गरेको उल्लेख गर्नुभयो।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रशिक्षार्थीहरूले तालिममा सिकेका ज्ञान, सीप र कलालाई राष्ट्र तथा नागरिकको सुरक्षामा सरल र सहज रुपले मानवअधिकारको संरक्षण गर्दै काम गरी जनमैत्री सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

समारोहमा धन्यबाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मातृभूमिको स्वतन्त्रता, सर्वाभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनतालाई अक्षुण राख्दै संविधान प्रदत्त मौलिक हक तथा मानवअधिकारको संरक्षण, सम्बद्र्धन, राज्यका निर्देशक सिद्धान्तको अनुशरण तथा नीतिहरूको कार्यान्वयन गर्दै समृद्ध, समुन्नत तथा शान्त र सुरक्षित नेपाल बनाउने गहन दायित्व बोकेको नेपाल प्रहरीका हरेक सदस्यहरूले सत्मार्ग र सत्कर्मले संगठन र समाजले खोज्ने असल पात्रको रुपमा आफूलाई उभ्याउने गरी सामथ्र्यवान बनाउन प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो।

समारोहमा उक्त प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक देवेन्द्र सुवेदीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो। साथै उहाँले तालिम सम्बन्धी जानकारी दिँदै गत २०७२ माघ २८ गतेबाट सुरु भएको उक्त तालिममा १३ महिलासहित कुल १ सय ३२ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापुर्बक तालिम हासिल गरेको बताउनुभयो।