नेपालको परराष्ट्र नीति सन्तुलित ः परराष्ट्र मन्त्री


नेपाल समाचारपत्र,काठमाडौ
परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले आफ्नो कार्यकालमा नेपालको छिमेकी एवम् अन्य देशहरूसँगको सम्बन्ध सन्तुलित र सुदृढ रहेको बताउनुभएको छ।

मन्त्री डा.महतले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कार्यकालको समीक्षा गर्दै संचारकर्मीसंग भन्नुभयो– नेपालको राष्ट्रिय स्वार्थ र विशिष्ट आवश्यकतालाई ध्यानमा राख्दै सक्रिय कूटनीति मार्फत नेपालको स्वार्थको परिपूरण गर्ने नीति यो सरकारले लिएको छ र यसका सकारात्मक परिणाम देखिएको पनि स्पष्टै छ।

उहाँले आफू परराष्ट्रमन्त्री नियुक्त हुदा नेपालको परराष्ट्र सम्बन्ध जटिल मोडमा रहेको र नेपालको हित र आवश्यकतालाई केन्द्रबिन्दुमा राख्दै सौहार्दता र विश्वासको आधारमा भारत र चीनसँगको सम्बन्धलाई मजबुद गर्ने काम भएको बताउनुभयो।

उहाँले यसैका आधारमा अन्य देशहरूसँग पनि असल र सफल सम्बन्ध विस्तारको आधार बनेको र विश्व समुदायलाई नेपालको लोेकतान्त्रिक संविधान, शान्ति प्रक्रियाको सफलताका बारेमा बुझाउँदै नेपालमा स्थायित्वको वातावरण निर्माण भइसकेकोले वैदेशिक लगानीका लागि आग्रह गरिएको स्पष्ट गर्नुभयो।

चिनियाँ बृहत आयोजना ओबिओआर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर, भारतसँग नेपालले गरेका सन्धी सम्झौता बमोजिम नेपालले पाउनुपर्ने सुविधाका बारेमा आपसी बैठकहरूमा कडाईका साथ कुरा उठाएको र कतिपय विषयमा प्रक्रिया पनि अघि बढेको, श्रम गन्तव्य मुलुकमा नेपाली श्रमिकको सुविधा र अधिकारका साथै राहदानी र कन्सुलर सेवामा गरिएका सुधारलाई उहाँले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कार्यका रुपमा स्मरण गर्नुभयो।

त्यसैगरी आर्थिक कूटनीतिको विकास र विस्तारका माध्यमबाट समृद्ध नेपाल निर्माणका लागि वैदेशिक लगानी भित्र्याउनुका साथै नेपालको परराष्ट्र क्षेत्रको संस्थागत, नीतिगत एवम् अन्य समय सापेक्ष सुधारमा आफ्नो कार्यकाल सफल भएको उहाँले बताउनुभयो।

संयुक्त राष्ट्रसंघ लगायत अन्य बहुपक्षीय संस्थाहरूमा नेपालको सहभागिता र सम्बन्धलाई विकसित गर्ने काम अगाडि बढेको तथा नेपालको लोकतान्त्रिक र समावेशी संविधानका विशेषता र नेपालले संविधान कार्यान्वयनमा चालेका कदमहरूका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन सफल भएको उहाँले बताउनुभयो।

नेपालको परराष्ट्र सम्बन्धलाई सक्रियता र गतिशिलता दिन आवश्यक नीतिगत स्पष्टता र संरचनागत सुधारका लागि गर्नुपर्ने कार्यहरूलाई अगाडि बढाइएको बताउदै मन्त्री डा.महतले नेपालको परराष्ट्र मामिलामा मतैक्यता जुटाई राष्ट्रिय हित र स्वार्थ अनुरूप परराष्ट्र नीतिमा आवश्यक परिमार्जन गर्न उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन भई काम भइरहेको उहाँले बताउनुभयो।