निर्वाचन कार्यतालिका सार्वजनिक


काठमाडौं (नेस)
आइतबारको व्यवस्थापिका संसद् बैठकले देशको नयाँ प्रधानमन्त्री पाउने गरी संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन कार्यक्रम अनुसार शनिबार मनोनयन दर्ताको कार्यक्रम छ भने आइतबार निर्वाचन हुने छ।

संसद् सचिवालयका अनुसार शनिबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने, अपरान्ह ४ः३० बजे उम्मेदवारीको सूची प्रकाशित गर्ने र आइतबार बिहान ११ बजे उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र एकैसाथ निर्णयार्थ प्रस्तुत (निर्वाचन) गर्ने कार्यक्रम रहेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गरेपछि सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँसेर निर्वाचनका कार्यक्रम सार्वजनिक गर्नुभएको हो। राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयनका लागि दिएको समय बुधबार नै सकिएपछि राष्ट्रपतिले संसद्लाई पत्र पठाई बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचन गर्न आग्रह गर्नुभएको थियो।

प्रधानमन्त्री निर्वाचनको मिति घोषणा संसद्को बैठकमै गर्नुपर्छ कि सूचनाद्वारा पनि गर्न सकिन्छ भन्नेमा अन्यौलता भएको थियो।

दलहरूबीच एकमत नभएपछि सभामुख घर्तीले शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर छलफल गर्नुभएको थियो। छलफलले पनि ठोस निर्णय लिन नसकेपछि सूचना टाँसिएको हो।