अफगानिस्तानमा शक्तिशाली विस्फोट, असीको मृत्यु


काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक क्षेत्रमा बुधबार भएको एक शक्तिशाली बम विस्फोटमा मारिनेको संख्या कम्तिमा ८० पुग्नुका साथै अन्य ३ सय ५० जना घाइते भएको प्रहरीले जनाएको छ।

अत्यन्तै कडा सुरक्षा व्यवस्था गरिएको जान्वाक चोक नजिक भएको सो विस्फोटमा मारिनेमध्ये अधिकांश सर्वसाधारण व्यक्ति रहेको बताइएको छ। बिहानको अति व्यस्त समयमा भएको यस विस्फोटका कारण ठूलो खाल्डो बनेको छ भने घरहरूका झ्याल र ढोकाहरू सयौं मिटर पर उछिट्टिएको बताइएको छ। स्थानीय समयअनुसार बिहान ८ बजेर २५ मिनेट जाँदा सो विस्फोट भएको थियो।

तालिवान लडाकू समूहले यस घटनामा आफ्नो हात नरहेको स्पष्ट पारिसकेको छ। तर इस्लामिक स्टेट (आईएस) ले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन।

केही समय यता यी दुबै समूहले आक्रमणलाई तिब्रता दिंदै आएका छन्। बीबीसीले उक्त विस्फोटमा अफगान सर्भिस कर्पोरेसनका ड्राइभर मोहम्मद नाजीरको मृत्यु भएको जनाएको छ। एउटा लोरीमा करिब १ हजार ५ सय किग्रा विस्फोटक पदार्थ लादेर विस्फोट गराइएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

यस घटनामा ५० वटाभन्दा बढी सवारी साधन ध्वस्त भएका छन्। काबुल प्रहरी प्रवक्ता बसिर मुजाहिदले यो घटना जर्मन दूतावासनजिकै भएको रोयटर्स समाचार निकायलाई बताएका छन्। सो क्षेत्रमा राष्ट्रपति भवन र बेलायतीलगायत अन्य थुप्रै दूतावासहरू रहेका छन्।