सहमतिको म्याद गुज्रियो, अब बहुमतीय सरकार


काठमाडौं, (नेस)
राजनीतिक दलहरूबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न सहमति जुट्न नसकेपछि बहुमतीय सरकार गठन हुने भएको छ। राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको सात दिनको समयभित्र पनि सहमति जुट्न नसकेको हो। राजनीतिक दलरुबीच सहमति जुट्न नसकेपछि राष्ट्रपति भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिँदै बुधबार दलहरूसँग परामर्श गर्नुभएको छ।

राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा सहमतिको सरकार गठनका लागि आग्रह गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले बताउनुभयो।

मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्न सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले दलहरूबीच यदि राष्ट्रिय सहमतिका सरकार गठन नभए बहुमतीय प्रक्रिया अगाडि बढाउने जानकारी गराउनुभएको थियो।

सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिको सरकार गठनका लागि प्रयास जारी रहेको जानकारी गराउनुभएको थियो। प्रचण्डले राजीनामा दिएपछि जेठ ११ गते राष्ट्रपति भण्डारीले सहमतिको सरकार गठन गर्नको लागि आह्वान गर्नुभएको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिको सरकार गठन गर्नका लागि आफूले दलहरूबीच छलफल गरेको बताउँदै सहमतिको सरकार गठन गर्न सबै दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको थियो।

राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि कांग्रेस सभापति देउवाले सर्वदलीय बैठक आह्वान गरे पनि प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गरेको थियो।

बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सहमतिको सरकार गठनको पक्षमा रहे पनि कांग्रेस र माओवादी केन्द्रका कारण वातावरण बन्न नसकेको बताउनुभएको थियो।

सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता टोपबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी लगायतको सहभागीता रहेको थियो।
प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएको थियो। तोकिएको म्यादभित्र सहमतीय सरकार बन्न नसकेमा संविधानको धारा २९८ को उपधारा (३) अनुसार व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ।

राजनीतिक दलहरूबीच सहमति जुटन नसके आज (बिहीबार) राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गर्ने तयारी गर्नुभएको राष्ट्रपतिको प्रेस सल्लाहकार शर्माले जानकारी दिनुभयो।