अफगानिस्तानमा ५ नेपाली घाइते – ४ डिस्चार्ज, १ को उपचार हुँदै



काठमाडौं, (नेस)
अफगानिस्तानमा बुधबार बिहान भएको शक्तिशाली आत्मघाती बम विस्फोटमा पाँच जना नेपाली नागरिक घाइते भएका छन्। यद्यपि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन।

परिवार र आफन्तहरूकै आग्रहमा नाम गोप्य राखिएको परराष्ट्र मन्त्रालयका सह–सचिव एवं प्रवक्ता भरतराज पौडेलले बताउनुभयो। ५ मध्ये ४ जना सामान्य घाइते भएकाले उपचारपछि डिस्चार्ज भइसकेको र एक जनाको काबुलमै उपचार जारी रहेको उहाँले बताउनुभयो।

‘४ जना सामान्य घाइते भएपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्, एक जनाको भने त्यहिको अस्पतालमा उपचार भइरहेको छ, तर स्वास्थ्य अवस्था जटिल नरहेको खवर आएको छ।’ –पौडेलले भन्नुभयो। दिल्लीस्थित नेपाली दूतावासका अनुसार घाइते भएका नेपाली काबुलमा सुरक्षागार्डका रुपमा कार्यरत थिए।

राजधानी काबुलको कूटनीतिक नियोगहरू रहेको स्थाननजिक भएको शक्तिशाली बम विस्फोटमा ८० जनाको मृत्यु भएको र ३ सय ५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार बिहान ८ बजेर २५ मिनेटमा सो घटना भएको थियो।

यसैबीच, नेपाल सरकारले सो घटनाको निन्दा गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगत आफन्तका परिवारप्रति समवेदना व्यक्त गरिएको छ। आफगानी राष्ट्रपति असरफ घानीले रमदानको पवित्र महिनामा भएको घटना कायरतापूर्ण भन्दै निन्दा गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्