आयोगले खोज्यो च्यातिएको मतपत्रको संख्या


काठमाडौं, (नेस)
निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा च्यातिएको मतपत्रको संख्या यकिन गरी विवरण पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई निर्देशन दिएको छ।

निर्वाचन आयोगले यसअघि सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाको संयोजकत्वमा एक समिति गठन गरी घटनाको सत्यतथ्य बुझेर प्रतिवेदन दिन निर्देशन दिएको भए पनि मतपत्र कति च्यातिएको हो त्यस बारेमा केही नभनेकाले अहिले भने च्यातिएको मतपत्रको संख्या एकिन गरी प्रतिवेदन दिन आग्रह गरेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। यो निर्णय त विवादास्पद भएन भन्ने नेपाल समाचारपत्रको जिज्ञाशामा आयुक्त दाहालले अहिलेलाई यति बुझ्नुस् न। भोलि प्रतिवेदन आएपछि के गर्ने भन्ने निर्णय हुन्छ भन्नुभयो।