च्याप्प समातेर दुई सय जरिवाना


प्रशान्त वली, काठमाडौं
सुर्खेत घर भएका राजेन्द्र पाण्डे अध्ययनका लागि काठमाडौं आएको दोस्रो दिन दरबारमार्ग घुम्न निस्के।

दरबारमार्ग पुग्दा उनले जेब्राक्रस भएको ठाउँबाहेक अन्यत्रबाट बाटो काट्नै लाग्दा ट्राफिकले च्याप्प समात्यो र किन जथाभावी बाटो काटेको भनी प्रश्न गर्यो। पाण्डेको जवाफ थियो– ‘खोई मलाई थाहा भएन। अबदेखि यसरी बाटो काट्दिन भनें। तर, ट्राफिकले २ सय रुपियाँ जरिवाना तिरायो। सरी भनेर क्षमा माग्दा पनि ट्राफिकले क्षमा दिएन।’

अहिले काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले छ्यापछ्याप्ती आम यात्रुलाई बाटो क्रसगर्दा जेब्राक्रसबाट आवत–जावत नगर्नेलाई २ सयको रसिद थम्याइदिने गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले कतिपयले सहीरूपमा बाटो नकाटेको भन्दै यात्रुले जरिवाना नतिरेपछि ३ घण्टाको सचेतना कक्षा सञ्चालन गरेर अब आइन्दा गल्ती नदोहोर्याउन आग्रह गरेको छ। यसैबीच आज न्युरोड क्षेत्रमा मात्रै ९० जनालाई जरिवाना तिराइएको प्रहरी नायव निरीक्षक गोविन्द बस्नेतले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘आम यात्रुहरूले १ सय मिटरको अन्तरमा जेब्रा क्रसिङको माग गर्नुभएको छ। संकलन भएको राजस्व उचित स्थानमा सदुपयोग गर्न आग्रह पनि गर्नुभएको छ। गलतबाटो बाट हिँडेको भेटिए र जेब्राक्रसको प्रयोग भए⁄नभएको दैनिक चेकजाँचसमेत हुन्छ।’

पछिल्लो तथ्यांकअनुसार बुधबार मात्रै २ हजार २ सय १२ जनालाई कारबाही गरिएको छ। जसमध्ये १ हजार ३ सय ६४ जनाबाट राजस्व संकलन र ८ सय ४८ जनालाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ। नियन्त्रणमा लिइएकाहरूलाई ३ घण्टाको सचेतना कक्षा दिइने ट्राफिक प्रहरीले बताएको छ।