सूर्योदय हुँदा फोहर गायब



ईश्वरराज ढकाल, काठमाडौं
निर्णय धेरै गर्न बाँकी छ। हतार नगरौं हामीले महानगरपालिकालाई हेर्न र पस्न लायक शहर बनाउने प्रण गरेका छौं। केही दिनमै सपना साकार गर्न लाग्नेछौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कामपा नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै भन्नुभयो– ‘आजैबाट कामको शुरुआत गर्नेछौं।’

कामपाले ८० वर्ष उमेर पूरा भएका पुरुष र ७५ बर्ष उमेर पूरा भएका महिला वरिष्ठ जेष्ठ नागरिकहरूलाई महानगरपालिकाकातर्फबाट वार्षिक १२ हजार भत्ता उपलब्ध गराउने र उहाँहरूलाई घरदैलोमा नै दक्ष चिकित्सकसहितको टोली पठाई स्वास्थ्य परीक्षण गर्ने कार्य तत्काल थालनी गर्ने निर्णय सुनाएको छ।

११ बँुदे निर्णय सार्वजनिक गर्दै उहाँले आजैबाट सूर्योदय अगावै फोहोर संकलन गर्ने कार्यको थालनी भएको जानकारी गराउनुभयो। मेयर उपमेयरको पदभार ग्रहण गर्दै शहर सफा गर्ने कार्य योजनासहितको फाइलमा पहिलो हस्ताक्षर गर्नुभएको थियो।

उहाँले काठमाडौं महानगरपालिकालाई धुलो र धुलोरहित ‘क्लिन द सिटी’ अभियान थालनी गर्ने बताउनुभयो। सो कामको थालनी आज बिहीबारबाट वडा नम्बर–३ स्थित नारायणगोपाल चोकबाट सफाइ अभियानको शुरू गर्ने जानकारी गराउनुभयो।

‘तपाईंहरूले केही दिनमै महानगरक्षेत्र परिवर्तन भएको देख्नुहुनेछ’, उहाँले भन्नुभयो। ‘सडकमा मात्रै होइन, सडक पेटी र अन्य स्थानमा पनि कुचो लगाउनेछौं, राजधानीलाई पूर्णरूपमा सफा र हरियाली शहरको रूपमा परिवर्तन गर्नेछौं।’ –निर्णय सुनाउँदै उहाँले भन्नुभयो।

महानगरपालिकाका सबै वडा कार्यालय र सम्पूर्ण विभागहरूबाट प्रवाह हुने सेवा छिटो, छरितो, प्रभावकारी र पारदर्शी बनाउँदै जवाफदेही र असल शासनको अभ्यास आरम्भ गर्ने रहेका छन्।

भूकम्पबाट पीडित महानगरबासीका निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा निःशुल्क परामर्श सेवा र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुट सुविधा उपलब्ध गराउने, सरकारी कामकाजको भाषाका रूपमा नेपाली र नेपाल भाषाको प्रयोग गरिने, सबै कार्यालयको बोर्ड र लेटरप्याडमा नेपाल रञ्जना भाषाको प्रयोग गर्ने, काठमाडौं महानगरपालिका क्षेत्रभित्र अवस्थित ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्र, महत्त्वपूर्ण सार्वजनिकस्थल र पार्कहरूमा फ्रि–वाइफाइ जोन बनाउने, बागदरबारस्थित काठमाडौं महानगरपालिकाको साविकको कार्यालय भवन निर्माणको कार्य तत्काल शुरू गर्ने अधिकांश वडा कार्यालय भवनहरू कार्यालय सञ्चालनका लागि पर्याप्त नदेखिएकाले वडा कार्यालय भवन निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाउनेलगायतका रहेका छन्।

महानगर क्षेत्रमा सम्भावित स्थान पहिचान गरी आवश्यक संख्यामा सार्वजनिक शौचालयहरू निर्माण गर्ने कार्य तत्काल थालनी गर्ने र काठमाडौं महानगरलाई २४ सै घण्टा खुला जीवन्त शहरका रूपमा विकास गर्न आवश्यक पूर्वाधारहरूको विकास एवं निर्माण कार्यहरू थालनी गर्ने निर्णय सार्वजनिक गर्नुभयो।

बिहान राष्ट्रिय सभागृहमा भब्य समारोह गरी शपथ नेपाल भाषामा सपथ खाएका मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले जनतासमक्ष व्यक्त गरेका प्रतिबद्धता पूरा गर्दै जाने बताउनुभयो।

प्रमुख निर्वाचन अधिकृतबाट प्रमुख, उपप्रमुख र वडाअध्यक्षलाई प्रथम र प्रमुखबाट वडा सदस्यहरूलाई दोस्रो चरणमा शपथ ग्रहण गराइयो। शपथ ग्रहण कार्यक्रममा काठमाडौंका सांसद र निर्वाचन आयोगका सचिवलगायतका उपस्थिति रहेको थियो। हिजै शपथ ग्रहण कार्यक्रम सम्पन्न भएपश्चात १ देखि ३२ वडा कार्यालयका वडा अध्यक्ष र वडा सदस्यहरू आ–आफ्नो वडा कार्यालयमा गई पदवहाली गर्नुभएको थियो।

शपथ ग्रहणलगत्तै मेयर र उपमेयर लैनचौरस्थित शहीद स्मारक, रत्नपार्कस्थित गणेशमान शान्ति वाटिका, शोभाभगवतीस्थित मंगलादेवी पार्क, चम्पादेवी, कीर्तिपुर पुष्पलाल स्मृति पार्क, बल्खुस्थित मदन भण्डारी र बसन्तपुरस्थित कुमारी घरमा पुगेका थिए। हिजै मेयर र उपमेयरले बागदरबार परिसरमा रुद्राक्षको वृक्षारोपण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्