ह्वाइट हाउसका सञ्चार निर्देशकद्वारा राजीनामा


वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका सञ्चार निर्देशक माइक डुब्केले मंगलबार पदबाट राजीनामा दिएका छन्। मात्र तीन महिनाअघि उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए।

ह्वाइट हाउसको सञ्चारनीतिको पुनस्र्थापनाका लागि अनुभवी रिपब्लिकन नीतिकार डुब्केलाई गत मार्चमा नियुक्त गरिएको थियो। ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले उनको पदभार सम्हाल्ने तर थोरै संख्यामा मात्र अब मिडिया ब्रिफिङ हुने बताइएको छ।

यस घटनाबाट ह्वाइट हाउसको सञ्चार टोली अन्योलमा परेको पनि बताइएको छ। राजनीतिसम्बन्धी वेबसाइट एक्सियोस न्युजले उनले १८ मेमा राजीनामा दिएको बताइएको छ। तर ह्वहाइट हाउसका सल्लाहकार केल्याने कोनवेले डुब्केले ट्रम्प शनिबार मध्यपूर्व र युरोपको भ्रमण सकाएर नफर्कुन्जेल पदमा रहिरहने फोक्स न्युजलाई बताएकी छिन्।

न्युज वेबसाइट पोलोटिकोले ४७ वर्षीय डुब्केले आफ्ना साथीहरूलाई पठाइएको इमेलमा पद त्याग्नुका केही कारणहरू खुलाएको जनाएको छ। डुब्केले लेखेका छन्– ‘पद त्याग्नुको कारण व्यक्तिगत हो। तर राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारका लागि सेवा गर्न पाउनु आफ्ना लागि एकदमै ठूलो सम्मान हो।

सञ्चार तथा प्रेस विभागका कर्मचारीहरसँग दिनदिनै सँगसँगै काम गर्नु पाउनु मेरा लागि खुसीको विषय हो।’ केही समयअघि मात्र ट्रम्पले संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशकलाई बर्खास्त गरेका थिए।