चुनाव फेरि सारिने



नेपाल समाचारपत्र
काठमाडौं
सरकारले दोस्रो चरणका लागि आउँदो असार ९ गते निर्वाचन सार्ने निर्णय गरेकोमा फेरि एक हप्ता पछि सार्ने भएको छ। हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीहरूलाई डाकेर सोसम्बन्धी छलफल गर्नुभएको थियो।

मुस्लिम धर्मावलम्बीहरूको पर्व रमजानको मुख्य दिन असार ९ गते नै पर्ने भनेर सो समुदायका तर्फबाट समेत आपत्ति जनाइएपछि प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई डाकेर छलफल गर्नुभएको हो। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसअघि जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको थियो।

प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र मुश्लिम समुदायको पवित्र पर्व रमजानसमेतलाई ध्यानमा राखी दोस्रो चरणको निर्वाचनको मिति केही दिन पर सार्ने प्रस्ताव राख्नुभएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच भएको छलफलमा प्रधानमन्त्री दहाललाई आयोगका पदाधिकारीहरूले सकारात्मक परामर्श दिनुभएको निर्वाचन आयोगद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गते बुधबार गर्ने तयारी गरेको र सोसम्बन्धी निर्णय आज बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने बुझिएको छ।

आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसमेत सहभागी रहनुभएको स्रोतले बताएको छ। आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली उक्त भेटघाटमा सहभागी हुनुभएको थियो। निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले नेपाल समाचारपत्रसँगको कुराकानीमा तिथि सार्ने बारेमा आयोग सकारात्मक भएको बताउनुभयो।

निर्वाचनको मिति सार्ने विषयमा औपचारिक सहमति भइनसकेको कानुन मन्त्री अजयशंकर नायकले बताउनुभयो। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा रहेको बताउँदै बुधबारको मन्त्रिपरिषद् बैठकमा निर्णय हुन सक्ने बताउनुभयो।

यता आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले पनि निर्वाचनको मिति सार्न सरकारसँग आग्रह गरेको छ। पार्टी संयोजक महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै मिति सार्न आग्रह गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्