विमान चिप्लिँदा पाइलटको मृत्यु, दुईको अवस्था चिन्ताजनक



दयाराम पण्डित, बाजुरा
सुर्खेतबाट खाद्य संस्थानको चामल लिएर हुम्लातर्फ उडेको नेपाली सेनाको विमान बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा विमान चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

नेपाली सेनाको एनए ४८ कल साइन भएको जहाज बाजुराको कोल्टीमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा परी पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु भएको थियो। सो दुर्घटनामा परी विमानका सहचालक अनिता आले र फ्लाइट एटेन्डेन्ट पूर्ण खड्का घाइते भएका छन्।


हुम्लाको सदरमुकाम सिमिकोटका लागि उडेको उक्त विमान सिमिकोटको मौसममा खराबी आएपछि बाजुराको कोल्टी विमानस्थलमा अवतरण गराउने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

विमानस्थलमा अवतरण गर्ने क्रममा विमान एक स्टप पछाडि ल्यान्ड भएपछि विमानलाई धावनमार्ग अपुग हुँदा धावनमार्गबाट चिप्लिएर खेतमा बज्रिन पुगेको थियो। विमान दुर्घटनामा परेपछि आगलागीसमेत भएको थियो।

विमान दुर्घटनामा पर्नासाथ स्थानीय सुरक्षा निकाय उद्धारमा खटिए पनि महासेनानी गुरुङलाई विमानबाट मृत अवस्थामा फेलापारी उद्धार गरिएको उद्धारमा संलग्न स्थानीय नन्दराम विष्टले नेपाल समाचारपत्रलाई जानकारी दिए। मृतक गुरुङ नेपाली सेनाभित्र अनुभवी विमान चालकको रुपमा ख्याति कमाएका व्यक्ति हुन्। नेपाली सेनाले भीआईपी र भीभीआईपीको उडान गुरुङले गर्ने गरेका थिए।

घाइतेमध्ये सहचालक आलेलाई काठमाडौं लगी थप उपचार भइरहेको छ भने क्याबिन एटेन्डेन्ट खड्काको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था चिन्ताजनक रहेको नेपाली सेनाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्