माओवादीले मतपत्र नै खायोः भट्टराई


रविन भट्टराई, ताप्लेजुङ
नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनको भरतपुरमा जितको भोक सहन नसकेर माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र नै च्यातेर खाएको बताउनुभएको छ।

नेकपा एमाले ताप्लेजुङले जिल्लाको मिक्वाखोला गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभालाई मंगलबार सम्बोधन गर्दै भट्टराईले यस्तो बताउनुभएको हो।

नेकपा एमालेले चितवनमा जित्ने सुनिश्चित भइसकेको समयमा माओवादी केन्द्रले सहन नसकेर मतपत्र नै च्यात्ने दुष्कर्म गरेको बताउँदै एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले एमाले यसरी आत्तिने अवस्था कहिल्यै नआउने दाबी गर्नुभयो।

पहिले देखिनै एमालेको पक्षमा जन लहर देखेर आत्तिएकाहरू पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनको मत परिणाम देखेर झनै तर्सिएको दाबी गर्दै उहाँले दोस्रो चरणको चुनावमा आउने एमालेको बाढी सहन नसक्ने देखेर चुनाव भाड्ने अनेक बहाना खोज्न कांग्रेस–माओवादी चुनाव सारे पनि एमालेको जित सुनिश्चित भएको बताउनुभयो।
अबको समग्र निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने दाबी गर्दै सचिव भट्टराईले एमालेको सरकार भएपछि प्रत्येक गाउँपालिकामा २० करोड रकम विकास निर्माणका लागि मात्रै छुट्याउने बताउनुभयो।

गाउँका जनताले सिंहदरबारको ढोका घच्घच्याउने दिन गएकाले जनताको अधिकार सुनिश्चित गर्न एमालेबाहेक कुनै पार्टी नेपालमा नजन्मिएको दाबीसमेत गर्नुभयो।

बृद्धबृद्धा, बालबालिका, सबै जात, धर्म, पेसा र समुदायलाई समेटेर हिँड्न जान्ने पार्टी एमाले मात्र भएकाले जनमत एमालेको पक्षमा भएको सचिव भट्टराईको भनाइ थियो। स्थानीय तहको निर्वाचनमा मात्र नभई सबै निर्वाचनमा एमाले खम्बा जस्तो शक्ति भएकाले एमालेबाहेकका सबै शक्ति मिलेर लडे पनि एमालेलाई हल्लाउन नसक्ने उहाँको दाबी रहेको छ।

ताप्लेजुङ जिल्ला एमालेको किल्ला भएकाले सो किल्लालाई ढोडको किल्ला नसम्झी फलामभन्दा दह्रो किल्ला सम्झन अन्य दललाई चुनौतीसमेत दिनुभयो।

सोही चुनावी आमसभालाई सम्वोधन गर्दै एमाले केन्द्रीय श्रम तथा रोजगार विभागका सदस्य चित्रगुप्त साँवाले मिक्वाखोलाको विकास एमालेलाई जिताएर मात्र सम्भव भएको बताउँदै उहाँले फेरि एमालेलाई जिताउन आग्रह गर्नुभयो।

सो गाउँपालिका प्रमुखका उम्मेदवार रामकुमार साँवाले ५ वर्षको अन्तरालमा पापुङमा पुर्याउने घोषणा गर्नुभयो।