भरतपुरबारे सत्यतथ्य ल्याउँछौंः आयोग


काठमाडौं, (नेस)
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा निष्पक्ष छानविन गरी कसैको दबाबमा नपरिकन सत्यतथ्य बाहिर ल्याउने जनाएको छ।

प्रमुख प्रतिपक्ष दल (नेकपा) एमालेले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा आयोगद्वारा गठित अनुगमन समितिबाट आउने प्रतिवेदन विश्वसनीय नहुने धारणा अघि सारेको सन्र्दभमा आयोगबाट यस्तो जवाफ आएको हो।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भन्नुभयो–‘भरतपुर घटनालाई लिएर प्रमुख प्रतिपक्ष दलले जुन आशंका गरेको छ। हामी त्यो आशंका सही हुन्न दिन्नौं.। निष्पक्ष तरिकाले घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने छौं।’
प्रमुख प्रतिपक्ष दलले भरतपुरमा भएको घटना अपराधिक मनोवृत्तिबाट भएको कुरा आयोगसमक्ष अघि सारेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल समाचारपत्रसँग जानकारी गराउनुभयो।

मतपत्र च्यातिएको सम्बन्धमा आयोगले सोमबार आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरी भरतपुर पठाएको थियो। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा ३ बमोजिम अयोगले सो अनुगमन टोली गठन गरेको थियो।

अनुगमन समितिले आज बुधबार प्रतिवेदन बुझाउने आयोगले जनाएको छ। टोलीलाई घटनास्थलमा पुगी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणना स्थलमा खटिएका सशस्त्र प्रहरी बलको टोली प्रमुख र सम्भव भएसम्म राजनीतिक दलहरूसँग छलफल गरी यस सम्बन्धमा के कसो भएको हो ? सत्य, तथ्य बुझी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको थियो।