जथाभावी बाटो नकाटौं है ! एकैदिन ३३४८ माथि कारबाही


काठमाडौं, (नेस)
महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा मंगलबारबाट जथाभावी सडकपार गर्ने यात्रुमाथि कारबाही शुरु गरेको छ।

दुई महिना लामो सचेतनापछि शुरु गरेको अभियानको पहिलो दिन ३ हजार ३ सय ४८ जनालाई कारबाहीको दायरामा ल्याएको छ।

पैदलयात्रीका कारण राजधानीमा सवारी दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान सञ्चालन गरेको थियो। महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक मिङमार लामाले मंगलबारबाट शुरु भएको यो अभियान निरन्तररूपमा चल्ने बताउनुभयो।

डीआईजी लामाले भन्नुभयो– ‘राजधानीको ४० प्रतिशत सवारी दुर्घटना पैदल यात्रीका कारण हुने गरेकाले सवारी दुर्घटना न्यूनीकरणका लागि यो अभियान सञ्चालन गरेका हौं।’

मंगलबार मात्रै ट्राफिक प्रहरीले २ हजार १ सय २० जनालाई जथाभावीरूपमा बाटो काटेको भन्दै २ सय रुपियाँ जरिवाना गराएको छ। जसबाट ४ लाख २४ हजार राजस्व संकलन भएको महाशाखाले जनाएको छ।

महाशाखाले जथाभावीरूपमा बाटो काट्ने १ हजार २ सय २८ जना पैदल यात्रुलाई पक्राउ गरे पनि उनीहरूले जरिवाना तिर्न नसकेपछि ३ घण्टाको सचेतना कक्षा सञ्चालन गरेर उनीहरूलाई अब आइन्दा जथाभावी बाटो नकाट्ने सर्तमा छोडिएको डीआईजी लामाले जानकारी दिनुभयो।

ट्राफिक प्रहरीले राजधानीका अधिकांश ठाउँमा जेब्राक्रसिङ मेटिएकाले त्यस्ता ठाउँमा जेब्राक्रसिङ कायम गर्न सडक विभागलाई आग्रह गरेकोमा विभागले टेन्डरसमेत गरिसकेकाले छिट्टै बन्ने बताइएको छ।

राजधानीमा ट्राफिक प्रहरीले दुर्घटनामा कमी ल्याउन अन्य कार्यक्रमसमेत ल्याउने डीआईजी लामाले बताउनुभयो।