झोलुङ्गे पुलको भार परीक्षण


प्रताप बानियाँ, म्याग्दी
म्याग्दी मा पहिलोपटक निर्माण सम्पन्न झोलुङ्गे पुलमा माटोको बोरा राखेर भार परीक्षण भएको छ। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट र ५ देवीस्थानको सिमाना भएर बग्ने रितुङ खोलामाथि निर्माण सम्पन्न बतासे साँघु झोलुङ्गे पुलको भार परीक्षण गरिएको हो।

पुल निर्माणका लागि जिल्ला समन्वय समिति म्याग्दीको आयोजना र विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) जिल्ला आयोजना कार्यालयले आर्थिक सहयोग गरेको थियो। यसै गरी झोलुङ्गे पुल सहयोग एकाइ पोखरा र क्षेत्रीयस्तरको साझेदार संस्था पोखराको प्राविधिक सहयोग तथा मिलन म्याग्दीको व्यवस्थापनमा पुलको निर्माण सम्पन्न गरिएको बताइएको छ।

६३ दशमलव ६ मिटर लामो पुलको कुल लागत २६ लाख ५७ हजार ४ सय २५ रुपियाँ रहेको छ भने स्थानीयले १ लाख ३९ हजार ९ सय ५० बराबरको जनश्रमदान गरेका छन्। त्यस्तै ड्रिलिप आयोजनाले २१ लाख ७१ हजार ९३, स्वाप केन्द्रीय अनुदान २ लाख ९४ हजार ३ सय ६८ र साविकको निस्कोट गाविसले ५२ हजार १४ रुपियाँ सहयोग गरेको जनाइएको छ।

प्रति मिटर ४०२ केजी भारवहन क्षमताको झोलुङ्गे पुलको कुल भारवहन क्षमता २५ हजार ५ सय २५ केजी रहेको पोखराका प्राविधिक संयोजक अच्युत अधिकारीले जानकारी दिनुभयो। १ हजार ४५ दिन रोजगार सिर्जना भएको निर्माण सम्पन्न सो पुलबाट २ सय ८३ घरधुरीका १ हजार ५ सय ५८ जनसंख्या लाभान्वित भएको उहाँले बताउनुभयो।

पोखराका सब सहजीकरण प्रबन्धक दिनेशप्रसाद पाण्डेले पुलको भार परीक्षण गुणस्तर नियन्त्रणका लागि गरिएको र शतप्रतिशत सफल भएको बताउनुभयो। म्याग्दीका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले भौतिक संरचना निर्माण गर्दा दिगोपना दिनुपर्नेमा जोड दिँदै पुलको मर्मतसम्भार र रेखदेख गर्न स्थानीयबासीलाई सुझाव दिनुभएको छ।

झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दूतबहादुर फगामीले पुल निर्माणले निस्कोट, देवीस्थान, दरबाङलगायत क्षेत्रका साथै छिमेकी जिल्ला बागलुङको पश्चिमी भेगका जनतालाई समेत राहत मिलेको प्रतिक्रिया दिनुभयो। म्याग्दी जिल्लामा नयाँ र पुराना गरी कुल १८६ ओटा झोलुङ्गे पुलहरू सञ्चालनमा रहेका छन्।