हेटौंडा चुन उद्योगद्वारा ४५ वर्ष पूरा



नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडा औद्योगिक क्षेत्र बाहिर स्थापित पहिलो उद्योग हेटौंडा चुन उद्योगले ४५औं वर्ष पूरा गरेको छ। उद्योगले शनिबार आफ्नो स्थापनाको ४५औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ६ महिलासहित ५३ जनाले रक्तदान गरेको हेटौंडा चुन उद्योगका प्रबन्ध निर्देशक अरूणराज सुमार्गीले बताउनुभयो।

जिल्लाको सबैभन्दा पुरानो उद्योग माधवराज सुमार्गीले उक्त उद्योग स्थापना गर्नुभएको हो। सुमार्गी समूहले उक्त उद्योग सञ्चालन गर्दै आएको छ। उक्त परिचित व्यावसायिक घरानाले नयाँ उद्यमीलाई उद्यमशील बन्न प्रोत्साहन मिलोस् भन्ने हेतुले कोष नै खडा गरी पुरस्कृत पनि गर्दै आएको छ भने उद्योगले आफ्नो प्रभाव क्षेत्रमा बालबालिकाको अध्ययनमा प्रशस्त सहयोग गर्दै आएको छ।

माधवराज सुमार्गीले २०२९ सालमा थालेको हेटौंडा चुन उद्योग नै सुमार्गी घरानाको व्यावसायिक यात्राको जग हो। त्यही जगमा टेकेर समूहले हाल शिक्षा, कृषि, सञ्चार, निर्माण र वित्तीय क्षेत्रमा हात हालेको छ। तीमध्ये अधिकांश व्यवसाय मकवानपुरमा छन्।

यसै उद्योगको माध्यमबाट शुरू गरेको औद्योगिक यात्रा हाल माधवराजका छोराहरू अजेयराज सुमार्गी र अरूणराज सुमार्गीले अगाडि बढाउनु भएको छ। नेपालका खनिज उद्योगमा अग्रणी कम्पनीका रूपमा सञ्चालनमा रहेको हेटौंडा चुन उद्योग हातपाखुरा आफ्नै धर्तीमा चलाउनुपर्ने र आफैं आत्मनिर्भर हुनुपर्ने मान्यताबमोजिम अघि बढिरहेको उद्योगका प्रबन्ध निर्देशक सुमार्गीले बताउनुभयो। २०३५ सालमा माधवराजको निधनपछि सुमार्गी पत्नी विश्वकान्तिको अग्रसरतामा उद्योगलाई निरन्तरता दिँदै २०६० वैशाखदेखि खनिजजस्ता क्षेत्रहरूमा आवश्यक लगानी व्यवस्थापन, सञ्चालन सहकार्य गर्नेसमेत उद्देश्यसाथ मुक्तिश्री प्रालिले विभिन्न क्षेत्रमा उद्योग⁄व्यवसाय स्थापना र सञ्चालन गर्दै आएको छ।

कम्पनीले राष्ट्रिय आवश्यकताहरूलाई परिपूर्ति गर्ने उद्देश्यसाथ नेपालमा रहेको राष्ट्रिय तथा बहुर्राष्ट्रिय रंगरोगन (पेन्ट) बनाउने उद्योगको कच्चापदार्थ डोलामाइट तथा नेपालमा फस्टाएको पोल्ट्री व्यवसायको दाना बनाउने उद्योगको कच्चापदार्थ क्याल्सियम कार्बोनेट तथा कृषकहरूले माटोमा बढ्दो अम्लीयपनका कारण भोग्नुपरेको समस्यालाई समाधान गर्न कृषि चुन र भवन निर्माणमा प्रयोग हुने मोज्याइक दानासमेत उत्पादन गर्ने देशको अग्रणी खानीजन्य उद्योगका रूपमा हेटौंडा चुन उद्योग प्रालि निबुवाटार हुँदै साबिक भैंसे गाविस–७ (हाल भीमफेदी गाउँपालिका–१) मा सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस्