७ सय ५३ मध्ये पाँच स्थानीय तहमा बेरुजु ‘शून्य’

कुन स्थानीय तहमा कति बेरुजु ? (तालिकासहित )



महानगरपालिका, उप महानगरपालिका र नगरपालिका भन्दा गाउँपालिका महालेखाको लेखापरीक्षणमा अब्बल देखिएका छन् ।

काठमाडौँ। 

तीन तहका सरकार मध्ये स्थानीय सरकारको धेरै बेरुजु देखिएको अवस्थामा पाँचवटा स्थानीय तहमा भने शून्य बेरुजु देखिएको छ । बागमती प्रदेशका तीन र कोशी प्रदेशका दुईवटा पालिकामा शून्य बेरुजु भएको हो । सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाको २५.३५ प्रतिशत बेरुजु छ । लक्ष्मीपुर पतारी गाउँपालिका नेपालकै धेरै बेरुजु भएको स्थानीय तहमा पर्दछ ।

बागमती प्रदेश अन्तर्गत काभ्रेको महाभारत गाउँपालिका, ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका र धादिङ्गको बेनीघाट रोराङ गाउँपालिका, कोशी प्रदेशको पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा शून्य बेरुजु रहेको छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबैमा बेरुजुको दर उच्च छ । गाउँपालिकाहरुले सुशासन र पारदर्शितालाई समेत उच्च बनाउँदै लगेको लेखापरिक्षणले पुष्टि गरेको छ । एक सय भन्दा धेरै स्थानीय तहले एक प्रतिशत भन्दा कम बेरुजु राखेका छन् ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले शून्य बेरुजु शून्य बनाउने अभियानमा निरन्तर दत्तचित्त भएर सेवामा सक्रिय गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि सिं विष्ट, लेखा प्रमुख जुना भट्टराई लगायत पालिकाका सम्पूर्ण कर्मचारी तथा संलग्न सबैलाई धन्यवाद दिएका छन् । ‘हामी केहि वर्ष देखि नै शून्य बेरुजुको अभियानमा कृयाशिल थियौं’– अध्यक्ष जिम्बाले भने–‘आर्थिक वर्ष २०७९-२०८० को लेखापरिक्षणमा हामी सफल भएका छौं ।’ सडक पूर्वाधार, विजुली बत्ति लगायतका पूर्वाधार निर्माणका क्रममा रहेको महाभारत गाउँपालिकाले नेपालमै नमुना बनेर अन्य पालिकाहरुलाई सुशासनको पाठ सिकाएको छ ।

महानगरपालिका मध्ये भरतपुर महानगरपालिकाको ०.०१ प्रतिशत बेरुजु रहेको छ । ललितपुर महानगरपालिकाको ०.४६ प्रतिशत बेरुजु रहेको छ । विराटनगर महानगरपालिकाको १.०३ प्रतिशत बेरुजु रहेको छ । काठमाडौँ महानगरपालिकाको १.११ प्रतिशत बेरुजु रहेको छ । पर्सामा रहेको विरगंज महानगरपालिकाको ७.१४ प्रतिशत बेरुजु रहेको छ । पोखरा महानगरपालिकाको ७.९८ प्रतिशत बेरुजु छ ।

उप महानगरपालिकाहरु मध्ये बारा जिल्लामा रहेको कलैया उप महानगरपालिकाको २.९९ प्रतिशत बेरुजु रहेको छ भने जीतपुर सिमरा उप महानगरपालिकाको ५.२२ प्रतिशत बेरुजु रहेको छ । हेटौडा उप महानगरपालिकाको १.८८ प्रतिशत बेरुजु रहेको छ । बुटवल उप महानगरपालिका रुपन्देहीको ४.०४ प्रतिशत बेरुजु रहेको छ । घोराही उप महानगरपालिकाको ०.७६ प्रतिशत बेरुजु छ भने तुल्सीपुर उप महानगरपालिकाको ३.१६ प्रतिशत बेरुजु छ । नेपालगञ्ज उप महानगरपालिकाको ४.०२ बेरुजु छ । धनगढी उप महानगरपालिकाको ०.५६ प्रतिशत बेरुजु छ । ईटहरी उप महानगरपालिकाको ४.६८ प्रतिशत र धरान उप महानगरपालिकाको ०.७६ प्रतिशत बेरुजु छ ।

१० प्रतिशत भन्दा धेरै बेरुजु भएका पालिकाहरुमा रौतहट जिल्लाको बृन्द्रावन नगरपालिकामा  ११.८४ प्रतिशत बेरुजु छ । राजपुर नगरपालिकाको १०.५९ प्रतिशत बेरुजु छ । त्यस्तै कटहरिया नगरपालिकाको १२.९२ प्रतिशत, गढीमाई नगरपालिकाकामा १२.६३ प्रतिशत बेरुजु छ । महोत्तरीको बलवा नगरपालिकाको ११.८५ प्रतिशत बेरुजु रहेको छ । महोत्तरीकै लोहरपट्टी नगरपालिकामा ११.२३ प्रतिशत बेरुजु छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको १०.३० प्रतिशत बेरुजु छ । सिराहाको लहान नगरपालिकाको १२.७६ प्रतिशत बेरुजु छ । नवराजपुर गाउँपालिकाको ११.२० प्रतिशत, भगवानपुर गाउँपालिकाको १०.३० प्रतिशत, लक्ष्मीपुर पतारी गाउँपालिकाको २५.३५ प्रतिशत बेरुजु छ । लक्ष्मीपुर पतारी गाउँपालिका नेपालकै धेरै बेरुजु भएको स्थानीय तहमा पर्दछ ।  सोरु गाउँपालिका मुगुको १०.६९ प्रतिशत बेरुजु छ ।

काभ्रेका १३ पालिकाको अवस्था 

महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको छ । नेपालका ७ सय ५३ वटा स्थानीय सरकार मध्ये ७ सय ४६ वटा स्थानीय सरकारको लेखापरिक्षण गरिएको थियो । जसमध्ये ५ वटा स्थानीय तहमा शून्य बेरुजु देखिएको छ । महाभारत गाउँपालिका शून्य बेरुजु भएका पाँच मध्ये परेको छ । जिल्लाका १३ वटा पालिकाहरु मध्ये बेरुजु शून्य बनाउने अभियानमा निरन्तर सक्रिय महाभारतले यो वर्ष पनि धेरै स्थानीय तहलाई उछिनेको छ । महालेखापरीक्षकको कार्यालयले आईतबार सार्वजनिक गरेको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष  २०७९-२०८० मा भए गरेका आर्थिक कृयाकलापहरु समेटिएको छ । महाभारत पछि कम बेरुजु भएको पालिकाका रुपमा पनौती परेको छ । पनौतीमा ०.२२ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै रोशी गाउँपालिका ०.६६ प्रतिशत बेरुजु भई तेश्रो भएको छ । भुम्लु गाउँपालिकामा सबै भन्दा धेरै ३.२६ प्रतिशत बेरुजु देखिएको छ । नमोबुद्ध नगरपालिकामा ३.२६ प्रतिशत बेरुजु देखिएको छ ।

विकासका हिसावले पछि परेको तथा भौगोलिक विकटतामा रहेको महाभारतले फेरि एक पटक सबैको मन जितेको छ । खानीखोला गाउँपालिकाले पनि बेरुजुमा आफूलाई कम गराएको छ । खानीखोलामा १.१९ रहेको छ । बनेपा नगरपालिकामा १.०२ प्रतिशत बेरुजु देखिएको छ । बेथान्चोक गाउँपालिकामा १.२१ प्रतिशत बेरुजु रहँदा मण्डनदेउपुरमा १.४२ र धुलिखेलमा १.६३ प्रतिशत बेरुजु देखिएको छ । चौरीदेउराली गाउँपालिकामा १.७९ र पाँचखाल नगरपालिकामा १.९९ प्रतिशत बेरुजु देखिएको छ । महाभारत गाउँपालिकामा १ अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण भएको थियो । पनौती नगरपालिकाले २ अर्ब ६६ करोड, रोशी गाउँपालिकाले १ अर्ब ८२ करोड, भुम्लुमा १ अर्ब २० करोड, नमोबुद्ध नगरपालिकाले १ एक अर्ब ५६ करोड, पाँचखाल नगरपालिकाले १ अर्ब ८५ करोड, चौरीदेउरालीले १ अर्ब १ करोड, धुलिखेल नगरपालिकाले मण्डनदेउपुर नगरपालिकाले १ अर्ब ६७ करोड, बेथानचोक गाउँपालिकाले १ अर्ब ४२ करोड, खानीखोला गाउँपालिकाले ८० करोड ८६ लाखको लेखापरिक्षण गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्