खुला मैदानमा शौच गर्न बाध्य छन् मेचीपारीबासी


नेपाल समाचारपत्र
भद्रपुर
सरकारले सन् २०१७ भित्र खुला दिसामुक्त देश घोषणा गर्ने अभियानमा जुटिरहेको बेला झापाको भद्रपुर नगरपालिकामा पर्ने टापु आकारको गाउँवर्षौंदेखि शौचालय विहीन अवस्था रहेको भेटिएको छ।

घरमा शौचालय नहुँदा स्थानीय शौच गर्न घरनजिकै खुला मैदान, नदी किनार वा जंगल धाउन बाध्य छन्। झापाको भद्रपुर नगरपालिका–३ स्थित मेचीपारी गाउँमा सय बढी घरपरिवार शौचालय विहीन रहेको नगरपालिकाले जनाएको छ।

भारतको विहार राज्यसँग जोडिएको मेचीपारीबासी घर त बनाउँछन्, तर घरधुरीभित्रै शौचालय नबनाउने उनीहरूको परम्परा र चालचलन नै रहेकाले गाउँमा वर्षौंदेखि शौचालय छैन।
गाउँमा शौचालय नभएपछि केही वर्षअघि रेडक्रस सोसाइटी, महेशपुर शाखाले बजेट निकासा गरेर केही घरधुरीमा शौचालय निर्माण गरिदिएको थियो। रेडक्रसले शौचालय निर्माण गरिदिएपछि बल्ल स्थानीयले गाउँमा शौचालय देख्न पाएका थिए। गाउँका केही घरमा शौचालय बनेपछि गाउँबासी घरघरमा शौचालय बनाउन सहमत भए, साथै अभियानमा पनि जुटे। तर, गाउँबासीको शौचालय बनाउने अभियान अहिलेसम्म पूरा भएको छैन।

साविक महेशपुर गाविस हाल भद्रपुर नगरपालिकामा पर्ने मेची नदी पारीको गाउँमा १ सय ४० बढी घरधुरी रहेको भद्रपुर नगरपालिकाले जनाएको छ। ‘गाउँका अधिकांश घरधुरीमा शौचालय छैन’, नगरपालिकाले रिङ राख्न खन्न लगाएको खाल्डो देखाउँदै स्थानीय भन्छन्– ‘नगरपालिकाले शौचालय बनाइदिनु पर्यो कि खाल्डो पुरिदिनु पर्यो।’

घरघरमा स्थानीयले शौचालय निर्माणका लागि खाडल खनेर राखेका स्थानीय जितलाल राजवंशीले बताए। तर, नगरपालिकाले शौचालयमा लगानी गर्ने लागेको बजेट मन्त्रलायबाट पास हुन नसकेपछि निर्माण कार्य अधुरै रहेको उनको भनाइ थियँ।

प्रत्येक घरधुरीमा शौचालय बनाउने आस नगरपालिकाले देखायो। अहिले नगरपालिकाले २५ वटा शौचालय बनाइदिने गाउँबासीलाई आश्वासन दिएको छ। २५ वटा शौचालय निर्माणका बारेमा पटकपटक नगरपालिकामा धाउँदा त्यहाँका कर्मचारीले अहिले हुँदैन, स्थानीय चुनावपछि मात्र हुन्छ भन्दै फर्काइदिएको उनले गुनासो पोखेका छन्।

गाउँका अधिकांश घरमा शौचालय नरहेको देखिएपछि नगरपालिकाले शौचालय बनाइदिने अभियान नगरपालिकाले ल्याएको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले बताए।