खुकुरी प्रहार हुँदा तीन जना घाइते

0
Shares

रसुवा, (नेस)
रसुवाको यार्सा र स्याफ्रुमा खुकरी प्रहार हुँदा तीन जना घाइते भएका छन्। गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुमा शुक्रबार खुकुरीले हान्दा स्याफ्रुका ३५ वर्षका रिसाङ वाङ्दी घले गम्भीर घाइते भएका छन्।

खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका घलेको जिल्ला अस्पताल धुन्चेमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंस्थित ग्रान्डी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

दिउँसो दुई जनाको संख्यामा आएका स्थानीय युवाले घलेलाई खुकुरी प्रहार गरी फरार रहेको प्रहरी निरीक्षक धुव्र सिलवालले बताउनुभयो। स्थानीय तहको चुनावको विषयलाई लिएर खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

घटनामा संलग्न हुने व्यक्तिलाई स्याफ्रु प्रहरी चौकीका असई मधुकान्त खड्काले नियन्त्रणमा लिइसकेपछि पनि प्रहरी चौकीबाट भगाएकाले जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले असईलाई अनुसन्धानका लागि सदरमुकाम ल्याइएको छ।

खुकुरी प्रहारमा संलग्न व्यक्तिलाई प्रहरी चौकीबाट भगाएको भन्दै प्रहरी चौकीमा स्थानीयबासीले घेराबन्दी गरेका छन्। खुकुरी प्रहारमा संलग्नलाई भगाएको भन्दै स्थानीयले एउटा मोटरसाइकलमा समेत आगजनी गरेका छन्।

त्यसै गरी नौकुण्ड गाउँपालिकास्थित यार्सामा बिहीबार खुकरी प्रहार हुँदा यार्साका २० वर्षका स्यामलाल तामाङ र जयराम तामाङ घाइते भएका छन्। घरमा नै बसेर खाना खाइरहेको अवस्थामा नेकपा एमालेका घिसिङ तामाङको नेतृत्वमा गएका ११ जनाको समूहले खुकुरी हान्दा दुई जना घाइते भएका हुन्। घाइते नेपाली कांग्रेस निकटको रहेको प्रहरी जनाएको छ। खुकुरी हान्नेहरू फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।