दिल्लीबाट २४ महिलाको उद्धार


नेपाल समाचारपत्र
बाँके
भारतबाट दिल्ली हुँदै खाडी मुलुक जान थालेका २४ जना नेपाली महिलालाई दिल्लीबाट उद्धार गरिएको छ।

देशका विभिन्न नाका प्रयोग गरेर कुवेत जानका लागि दिल्ली पुगेका नेपाली महिलालाई नेपाली राजदूताबास र दिल्ली प्रहरीले विभिन्न ठाउँबाट उद्धार गरेको हो। जोखिमपूर्ण यात्रामा रहेका उनीहरूलाई माइती इन्डियामार्फत नेपालगन्जस्थित माइती नेपाल र प्रहरीसमक्ष बुझाइएको छ।

उद्धार गरिएकामा सिन्धुपाल्चोक र मकवानपुरका धेरै छन्। केही नुवाकोट, चितवन र झापाकासमेत रहेका छन्। दलालले घरेलु कामका लागि भन्दै ती महिलालाई दिल्ली पुर्याएका थिए। यी महिलाहरू कोही एक महिनादेखि त कोही पन्ध्र दिनदेखि दिल्लीमा रहेका थिए। ‘दिल्लीको उत्तमनगरमा बसेका थियौं, प्रहरीले समातेर नेपाल फिर्ता गर्यो।’ –सिन्धुपाल्चोककी एक किशोरीले भनिन्।

दिल्लीबाट उद्धार गरिएकामध्ये ७ जना अविवाहित छन्। उद्धार हुनेमा केही पहिला पनि विदेश गएर आएका छन्। महिलालाई विभिन्न नाका हुँदै दिल्ली पुर्याएर विदेशी पठाउने ठूलो गिरोह रहेको आशंका गरिएको छ। यी महिलालाई दिल्ली पुर्याउने गिरोहको प्रहरीले खोजी थालेको छ।

उद्धार गरिएका महिलालाई काठमाडौं पठाइएको छ। अहिले माइती नेपालको केन्द्रीय कार्यालयमा उनीहरूलाई राखिएको छ। नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा जाने नेपाली महिलाको यकिन तथ्यांक छैन। नेपालगन्ज नाकाबाट मात्रै वर्षेनी ठूलो संख्यामा महिलाहरू भारत हुँदै तेस्रो मुलुक गएको देखिन्छ। यसरी विदेश जानेहरूमा पाँच सय बढी त सम्पर्कमा नआएको भन्दै खोजतलासका लागि निवेदन दिने गरिएको छ। ‘जाँदा थाहा हुँदैन, सम्पर्क नभएपछि खोजतलासका लागि भनेर निवेदन दिन आउँछन्।’ –माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाले भन्नुभयो।

भूकम्प प्रभावित जिल्लाहरूबाट ठूलो संख्यामा महिला तथा किशोरीहरू दलालको प्रलोभनमा परेर विदेशिने गरेको पाइएको छ। पछिल्ला वर्षहरूमा दलालको रोजाइको नाका भने नेपालगन्ज र बर्दियाको बलैगाउँहुने गरेको छ।

नेपालगन्ज नाकामा प्रहरीका साथै विभिन्न संघसंस्थाहरू बसेर कडाइ गरे पनि दलालले कुनै न कुनै तरिकाले महिलालाई भारत पुर्याउने गरेका छन्। पूर्वपश्चिम राजमार्गले छोएको कोहलपुरमा ल्याएर राख्ने र किनमेलको बहाना बनाएर नेपाली नाका कटाउने गरेको पाइएको छ। तेस्रो मुलुक जाने भनेर गएका कतिपय भने भारतीय वेश्यालयमा पुग्ने गरेको सम्बद्धहरू बताउँछन्।