“दोषीलाई उन्मुक्ति दिनु दण्डहीनतालाई प्रश्रय दिनु हो”


नेपाल समाचारपत्र
काठमाडौं
टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन गरी गरेको सरकारको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको छ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको हो। आयोगले कैलाली घटनाको दोषीलाई उन्मुक्ति दिन खोज्नु खेदजनक भएको बताएको छ। आयोगले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गरेको छ।

आयोगले विज्ञप्तिमार्फत् राजनीतिक आवरणमा दोषलाई उन्मुक्ति दिनु खेदजनक भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘आठ जना सुरक्षाकर्मी र एक जना नाबालकसहित नौ जनाको ज्यान जाने गरी भएको घटना तथा कफ्र्यु एवम् उच्च सुरक्षाको समयमा समेत भएको तोडफोड र आगजनीबाट सर्वसाधारणको सम्पत्तिमा भएको क्षति र यातनाका घटनाको सम्बन्धमा जिम्मेवारीपूर्वक छानविन र अनुसन्धान नगरी आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिनु दण्डहीनतालाई प्रश्रय दिनु हो।’

आयोगले उक्त घटनाको तथ्यपूर्ण छानविन गरी दोषीमाथि कारबाही तथा पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि आग्रह गरेको छ। २०७२ भदौमा कैलालीको टीकापुरमा भएको एक हिंसात्मक घटनामा आठ जना सुरक्षाकर्मी र एक जना नाबालकसहित नौ जनाको ज्यान गएको थियो।