मकैको बिऊमा पाल्पा आत्मनिर्भर



कविराज नेपाल, पाल्पा

पाँच बर्ष अगाडीसम्म बाहिरी जिल्लाबाट मकैको विऊ पाल्पा ल्याउनुपर्ने अवस्था थियो तर अहिले जिल्ला मकैमा आत्मनिर्भर भएपछि यहाँबाट अन्य जिल्लामा निकासी हुँदै आएको छ ।

पाल्पालाई मकैको विऊ उत्पादनको नमुना जिल्ला बनाउने अभियानमा जिल्ला कृषि विकास कार्यालयले विगत केहि बर्ष देखी कृषक लक्षित कार्यक्रम सञ्चालन गरेपछि अवस्थामा सुधार आएको हो । कार्यालयले निरन्तर सक्रियता देखाएपछि जिल्लामा प्रत्येक वर्ष मकैको गुणस्तरीय विऊ उत्पादनमा बृद्धि हुन थालेको हो । पछिल्लो समयमा जिल्लाका विभिन्न ११ कृषि सहकारी र २० भन्दा बढी कृषक समुहले मकैको विऊ उत्पादन गर्दै आएका छन ।

कृषि कार्यालयले जिल्लाका पोखराथोक, सोमादी, भुवनपोखरी, बौघापोखराथोक, सिलुवा, नायरनमतलेस, मदनपोखरा, हुँगी जस्ता २० भन्दा स्थानलाई मकैको पकेट क्षेत्र पहिचान गरेको छ । ती क्षेत्रबाट ५२ मेट्रिकटन भन्दा बढी गुणस्तरीय विऊ उत्पादन भएको छ । विऊ राख्ने गोदाम घर निर्माण, मकै छोडाउने मेसिन, त्रिपाल, प्याकेजिङ उपकरण अनुदानमा उपलब्ध गराउँदै आएको कार्यालयका वाली विकास अधिकृत एवं सूचना अधिकृत हशमुल्लाह खानले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा उत्पादित मकैको विऊ कास्की, पर्वत, स्याङजा, तनहुँ, अर्घाखाँची, चितवन, रुपन्देही लगायतका जिल्लामा निर्यात हुँदै आएको छ । यस बर्ष मात्र कृषकले जिल्ला कृषि कार्यालय मार्फत २१ मेट्ीक टन विऊ बाहिरी जिल्लामा निर्यात गरेका थिए । पाल्पामा आधुनिक जातको मनकामना ३ मनकामना ६, अरुण ३ र देउती जातको विऊ उत्पादन हुँदै आएको छ । जिल्लाको प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकै कुल खेती योग्य क्षेत्रफल मध्ये १९ हजार हेक्टर क्षेत्रफलमा खेती हँुदै आएको कार्यालयले जनाएको छ ।

स्थानीय जातको मकै प्रति हेक्टर १ टन उत्पादन हुने र उन्नत जातको मकै प्रति हेक्टर ३ देखि ४ टनसम्म उत्पादन हुने सो कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले बताउनुभयो । स्थानीय जातको तुलनामा मनकामना उन्नत जातको विऊ लगाउँदा धेरै उत्पादन हुने भएकोले पाल्पाली मकैको विऊको माग बढेको पोखराथोकका कृषक रेश्मीराज गैरेले बताउनुभयो । जिल्लाको आन्तरिक खपतको लागि कृषि कार्यालयले उन्नत विउ प्रयोग गर्ने कृषकहरुका लागि ७५ प्रतिशत अनुदान गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्