दोस्रो चरणको निर्वाचनका लागि आयोग तात्यो


काठमाडौं, (नेस)
पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गरेको निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आज शनिबारदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालयहरू पूर्णरुपमा सञ्चालन ल्याउने भएको छ।

निर्वाचन हुन बाँकी रहेका ४३ जिल्लामा निर्वाचन सम्पन्न गर्ने उद्देश्यले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। शर्माले भन्नुभयो– ‘जेठ १५ बाट निर्वाचन अधिकृतको कार्यालय पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको छ।’ यही जेठ ३१ गते बुधबार हुने दोस्रो चरणमा चार प्रदेशका ४३ जिल्लाका ४ सय ६१ स्थानीय तहमा निर्वाचन हुने भएको छ। जेठ ३१ ग्ते प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचनमा रुकुम र नवलपरासी जिल्ला दुई प्रदेशमा परेपछि दोस्रो चरणको निर्वाचनमा ४३ जिल्लामा हुन लागेको हो।

दोस्रो चरणको निर्वाचन १२ उपमहानगरपालिका, १ सय ५६ नगरपालिका र २ सय ९३ वटा गाउँपालिकामा हुने भएको छ। निर्वाचनमा ९० लाख ९७ हजार ५ सय ५७ जना मतदाता रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो।

निर्वाचन अधिकृतहरूले जेठ १५ गते कार्यालय सञ्चालन गरेपछि कर्मचारीहरूको तालिम सञ्चालन गर्ने भएका छन्।

निर्वाचन कार्यक्रमअनुसार जेठ १९ गते उम्मेदवारको मनोनयन र जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चि≈न प्रदान गरिने आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचनमा ११ हजार ९ सय ३१ वटा मतदान केन्द्र रहने भएका छन्।