जघन्य अपराधका मुद्दा फिर्ता नहुने


काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले टीकापुर घटनालगायत कुनै पनि पनि जघन्य अपराधमा संलग्न दोषीको मुद्दा फिर्ता नहुने दाबी गरेको छ।

शुक्रबार एक प्रस विज्ञप्ति प्रकाशित गर्दै सचिवालयले उक्त जानकारी दिएको हो। सचिवालयले जघन्य अपराधका घटनामा कुनै पनि मुद्दा फिर्ता नहुने स्पष्ट पारेको छ। विगत केही दिनदेखि सञ्चारमाध्यममा टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन लागेको भन्ने समाचार निरन्तर आइरहेको अवस्थामा सचिवालयले उक्त विज्ञप्तिमार्फत टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन लागेको भन्ने समाचारको खण्डन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तराई–मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्ने पनि निर्णय गरेको थियो।

बैठकले टीकापुर घटनामा संलग्न व्यक्तिहरूलाई लगाइएका मुद्दाहरू कानुनबमोजिम हुने गरी फिर्ता गर्ने प्रक्रिया पनि थाल्न गृह मन्त्रालयलाई निर्देशन पनि दिएको थियो।

सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण निर्माण गर्न व्यक्तिहरूलाई लगाइएका झुठा मुद्दा कानुनको परिधिमा रहेर फिर्ता गर्ने निर्णय गरेको बताइएको छ।