महोत्तरीमा एकीकरणसँगै विरोध र्याली


लक्ष्मीकुमार साह, महोत्तरी

राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ताहरूले महोत्तरीमा एकीकरणसँगै विरोध र्याली निकालेको छ।

शुक्रबार जिल्ला सदरकमुकाम जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा राजपाले पार्टी एकीकरण गरेको हो। एकीकरणपश्चात राजपाले पूर्वनिर्धारित कार्यक्रमअनुसार र्याली निकाली नगरपरिक्रमा गर्दै संविधान संशोधन गर्न दबाब दिएको छ।

सयौंको संख्यामा निकालिएको सो र्यालीले संशोधनबिनाको चुनावमा जुनसुकै हालतमा पनि भाग नलिने भन्दै नारा लगाएको थियो। राजपाका कार्यक्रमलाई ध्यानमा राखी ठूलो संख्यामा प्रहरी र म्यादी प्रहरीसमेत परिचालन गरिएको छ।

राजपाको कार्यक्रमलाई अझ सशक्त बनाउनका लागि राजपाले जेष्ठ १ गतेसम्म आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका कार्यक्रमअन्तर्गत जलेश्वरमा विरोध र्याली निकालेको हो। नगरपालिका चौकमा सांसद विजय सिंहले कोणसभाको सम्बोधन गर्दै समापन गरेका थिए।

सत्तापक्ष कांग्रेस र माओवादी केन्द्रले आफूहरूसँग गरेको तीन बुँदे सहमति पालना नगरेकाले आफूहरूले पहिलो चरणको स्थानीय तह निर्वाचनको मुखैमा आज राजपाले घोषणा गरेको कार्यक्रमअन्तर्गत विरोध र्याली निकालेका हौं र जेष्ठ १ गते पनि देशका विभिन्न ठाउँमा मोटरसाइकल र्याली निकाल्ने राजपाका नेता गजेन्द्र गुप्ताले बताए।

विरोध र्यालीमा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) लगायतका पार्टीहरूका कार्यकर्ता तथा नेताहरूको सहभागिता रहेको थियो।