शिक्षकहरू राजिनामा दिएर राजनीतिमा


मोतीराम तिमल्सिना, काभ्रे
स्थानीय तहको निर्वाचनको प्रयोजन तथा नयाँ शिक्षा नियमावलीअनुसार अस्थायी शिक्षकहरूलाई उपदानसहित विदा गर्ने तयारीअनुरुप दिएको म्यादभित्र थुप्रै शिक्षकहरूले राजिनामा पेश गरेका छन्। जिल्लाका विभिन्न विद्यालयहरूमा कार्यरत झण्डै २ दर्जन शिक्षकहरूले राजिनामा दिएर विभिन्न दलबाट उम्मेदवारी दिएका छन्।

चलालको गणेश निमाविबाट राजिनामा दिएका प्रेम लामाले एमालेबाट बेञ्थाञ्चोक गाउँपालिकाको अध्यक्षको टिकट प्राप्त गरेका छन् भने नमोबुद्ध नगरपालिका श्यामपाटीको प्राथमिक विद्यालयमा कार्यरत शिक्षक राजकुमार कुँवरले नेकपा एमालेबाटै महाभारत गाउँपालिकाको टिकट प्राप्त गरेका छन्। त्यस्तै उम्मेदवारी दर्ताका लागि अन्य शिक्षकहरूले पनि राजिनामा दिइसकेका भए पनि अन्तिम अवस्थामा टिकट प्राप्त गर्न नसकेका थुप्रै शिक्षकहरू विलखबन्दमा परेका छन्। ‘पार्टीले टिकट दिन्छ भनेर केही समयअघिदेखि नै राजिनामा दिएर बसें, अन्तिम समयमा मेरो टिकट खोसियो’ –नेपाली कांग्रेस निकट एक शिक्षकले बताए। उम्मेदवारीकै लागि राजिनामा दिइसकेका थुप्रै शिक्षकहरूले टिकट प्राप्त गरेनन्।

निर्वाचन प्रयोजनका लागि पनि ३० भन्दा धेरै शिक्षकहरूले राजिनामा बुझाएका छन्। निर्वाचनको मिति घोषणा भइसकेपछि बज्रयोगिनी प्रावि महादेवस्थानका रामहरि नेपाल, सञ्जीवनी धुलिखेलका रामकुमार तखाँक्षे, रमेशराज खरेल बागदेवी मावी, भुम्लु सल्ले, प्रेमकुमार तामाङ गणेश निमावि चलाल, बालकृष्ण फुँयाल भैरव मावि, च्याम्व्राङबेंसी, तीर्थमाया प्रधान, श्वेत गणेश आधारभूत विद्यालय, पनौती, रमेश पौड्याल कुशादेवी मावि, रामबहादुर कुँवर, गणेश भारति मावि, महेन्द्रज्योती, मनोहर राउत– इन्द्रेश्वर मावि, पनौती, तोरणप्रसाद गौतम, सेतिदेवी मावि, चौबास, डेगबहादुर कुँवर महादेव प्रावि, चौबास, विष्णुप्रसाद गौतम, गणेश प्रावि पाँचखाल, दुर्गाप्रसाद पन्त, देउराली मावि, चौरीदेउराली, मणिनाथ लामिछाने, बागदेवी मावि, ज्याम्दी, तारादेवी आचार्य घिमिरे, बालज्योती मावि, कोदाखोरिया, झलकप्रसाद पौड्याल, डेडिथुम्का निमावि, महादेवस्थान, निर्मला श्रेष्ठ, हिमालय मावि, बनेपा, राजकुमार कुँवरलगायतका थु्रपै शिक्षकहरूले राजिनामा दिएका छन्।

त्यस्तै निजी श्रोतमा कार्यरत केही शिक्षकहरूले समेत राजिनामा दिएका छन्। राजिनामा दिने सबै शिक्षकहरू भने उम्मेदवार भएनन्। केही शिक्षकहरूले दलहरूले टिकट दिने अन्तिम दिनसम्म पनि राजिनामा बुझाएका थिएनन्। राजिनामा लेखेर ठिक्क पारेका धेरै शिक्षकहरूले टिकट पाएपछि राजिनामा बुझाएका छन्।
उता अस्थायी भई लामो समयदेखि कार्यरत रहेका शिक्षकहरूलाई उपदान दिएर विदा गर्ने तयारीस्वरुप दिएको वैशाख २५ को म्यादलाई वैशाख ३० गतेसम्म पुर्याइएको छ। शिक्षा कार्यालय काभ्रेमा यतिखेर शिक्षकहरू राजिनामा दिनेको लर्काे लागेको छ। निर्वाचन प्रयोजनका लागि खटिएका कर्मचारीहरूसमेत राजिनामा बुझाएर बसेका थिए। झण्डै २ सयको हाराहारीमा अस्थायी शिक्षकहरूले राजिनामा दिइसकेको शिक्षा कार्यालयले बताएको छ।