ठूला सडकमा कालोपत्रे गर्ने कार्य शुरू


अनिल खत्री, गुल्मी

गुल्मी जिल्लाभित्रका ठूला सडकमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ। सदरमुकामबाट पश्चिमी क्षेत्र जोड्ने तम्घास सिमलटारी सडकमा पनि मंगलबारदेखि कालोपत्रे शुरु हुने भएको छ। ४० किलोमिटर दूरीको यो सडकले क्षेत्र नं ३ का २८ गाविससहित प्यूठान र अर्घाखाँचीलाई समेत सुविधा पुग्नेछ।

यो सडकको तम्घास छल्दी खण्डको ८ किलोमिटर खण्डमा २० करोड ६२ लाख लागतमा कालोपत्रे शुरु भएको हो। त्यस्तै सोही सडकको छल्दी सिमलटारी खण्डको २४ किलोमिटरमा स्तरोन्नति र बाँकी खण्डमा कालोपत्रे हुनेछ। उक्त सड्क पूरा गर्न ४१ करोड रकम बिनियोजन भइसकेको छ। त्यस्तै तम्घास खाम्सेपानी ७ किलोमिटर खण्डमा पनि कालोपत्रे अघि बढेको छ। तम्घास सिमलटारी सडक आयोजनाका प्रमुख इन्जिनियर सुजन अधिकारीका अनुसार आगामी ३ वर्षभित्रमा जिल्लाका ठूला सडक पूरै कालोपत्रे र स्तरोन्नति हुनेछन्। छल्दी सिमलटारी १० किलोमिटर, छल्दी इन्द्रेगौंडा १३ किलोमिटर, तम्घास नेटा ५ किलोमिटर, बलेटक्सार रिङरोड ४० किलोमिटर सडक स्तरोन्नतिको तयारीमा छन्।

अत्यन्तै व्यस्त रहेर पनि लामो समयदेखि कच्ची सडका रूपमा रहेका जिल्लाका दुई मुख्य सडकमध्येको रुद्रवेणी बामीटक्सार सडक कालोपत्रे शुरु भएको छ। यो सडक यातायात शुरु भएको ३६ वर्षपछि कालोपत्रे शुरु भएको हो। यो सडकमा २०३८ सालदेखि सवारी चल्न थालेका थिए। २०५२ सालमा रुद्रवेणीमा पक्की पुल बनेपछि सडकले बाग्लुङको बुर्तिबाङसम्मलाई जोडेको थियो।
४२ किलोमिटर लम्बाइ रहेको सडकले बाग्लुङ र गुल्मीमा झण्डै २५ गाविसलाई जोडेको छ। दैनिक एक सय २० जिप, बस, ट्रकलगायतका सवारी ओहोरदोहोर गर्ने सडक लामो समय कच्ची हुँदा सर्वसारधण मर्कामा थिए। सडकको लिम्घाको नादेवा खोलादेखि सिस्नेखोलासम्मको ५ किलोमिटर खण्डमा इलाइट रसुवा जेभी कन्ट्रक्सनले कालोपत्रे शुरु गरेको छ।

सबै सडकमा स्तरोन्नति र कालोपत्रेको काम एकैसाथ शुरु भएको छ। पूर्वमन्त्री प्रदिप ज्ञवालीले पूरै सडक कालोपत्रेका लागि ४८ करोड रुपियाँ रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराइएको बताए। ‘रिडी रुद्रवेणी बामीटक्सार सडक जिल्लाको विकासको मेरुदण्ड नै हो’, उनले भने, ‘रिडीदेखि रुद्रवेणी खण्ड कालीगण्डकी करिडोरमा परेकाले अहिले रुद्रवेणीदेखि बामीखण्डमा काम शुरु भएको हो।’ सबै ठेक्का बहुवर्षे योजनाअन्र्तगत भएकाले अर्को वर्षसम्ममा पूरै सडक कालोपत्रे गर्ने गरी काम भइरहेको उनले बताए।
जिल्लाका विभिन्न स्थान जोड्ने केही सडकहरूको स्तरोन्नति पनि तीव्रताका साथ अगाडि बढिरहेका छन्। एसएनआरटीपी परियोजनाबाट चोरकाटे शान्तिपुर १४ किलोमिटर, सेउघा सिमाहाघाट नादी पुर्कोट ३७ किलोमिटर खण्डमा पनि स्तरोन्नतिको काम भइरहेको कार्यालयका इन्जिनियर सुनिल रन्जितकारले बताए।३ वर्षभित्र धेरै सडक कालोपत्रे हुने गरी काम भइरहेको बताए। उनले भने– ‘अधिकांश सडकमा कालोपत्रेसंगै पक्की पुल निर्माणसमेत भइरहेका छन्।’ जिल्लाभित्रका अन्य साना सडक पनि चौडा पार्ने काम तीव्र भइरहेको पनि उनले बताए।
निर्वाचन क्षेत्र सडकअन्र्तगतका भेडुवा हुंगा सिस्ने ८ किलोमिटर, राक्से अमराई ४ किलोमिटर, खैरेनी जोहाङ भार्से ४ किलोमिटर सडकमा पनि प्रतिसडक १ करोड रुपियाँ लागतमा चौडा पार्ने, नाली बनाउने र स्तरोन्नति गर्ने कार्य भइरहेको कार्यालयका इन्जिनियर सुनिल रन्जितकारले बताए। त्यस्तै प्रादेशिक सडकअन्तर्गत तम्घास–नेटामा पनि काम धमाधम भइरहेको कार्यालयले जनाएको छ।